पाटन (ललितपुर), १८ वैशाख : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ । रथयात्रा आज पुल्चोकबाट सुरु भएर गावहाल पु¥याइएको छ ।
रातो मच्छिन्द्रनाथसँगै मीननाथको रथलाईसमेत गावहाल पु¥याइएको छ । पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ बनाउँदै गर्दा पाटनको टङ्गालमा मिननाथको रथ निर्माण गरिने प्रचलन छ । रथयात्राअगावै मिननाथको रथलाई आजै पुल्चोक ल्याइएको थियोे ।
यही वैशाख १५ गते सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रवहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।
यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।
रथयात्राको अवलोकन गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको निमन्त्रणामा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदूतहरु, अन्तरराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि ललितपुर पुग्नुभएको थियो ।
ललितपुर महानगरको निमन्त्रणामा रथयात्रा अवलोकन गर्न युरोपेली युनियनका राजदूत भेरोनिका लोरेन्जो, इजरायलका राजदूत श्मुलिक एरीबास, जापानका राजदूत मयादा तोरु, बेलायतका राजदूत रब फेन, अमेरिकी दूतावासका पब्लिक अफियर्स चिफ जेहरा नाक्यूभीका साथै युनेस्को, युएनडिपी, युएनएचसीअरका प्रतिनिधिहरु ललितपुर आउनुभएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
रथयात्रा हेर्न ललितपुर आएका विदेशी पाहुनालाई महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनलगायतले स्वागत गर्नुभएको थियोे ।
त्यस्तै भगिनी सम्बन्ध कायम भएको रसियाको उलान उदे सहरका नगर प्रमुख र उनको प्रतिनिधिमण्डल, अखिल भारत नेवार सङ्गठन आसाम इकाइका लिलबहादुर प्रधान र केन्द्रका सूर्यनारायण प्रधानसमेतले रथयात्राको अवलोकन गर्नुभएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु रातो मच्छिन्द्रनाथको परिचय र चर्चालाई अन्तरराष्ट्रियस्तरमा थप उचाइ दिन राजदूत र अन्तरराष्ट्रिय विकास साझेदार संस्थालाई निम्तो दिएको बताउनुभयो । “उहाँले रथयात्रा हेरेर उहाँहरुले एकदमै राम्रो लागेको धारणा राख्नुभएको छ, यस्तो रथयात्रा अहिलेसम्म अन्त कतै नहेरेको बताउनुभयो । हामी सबैलाई उहाँहरुले निम्ता दिएकामा धन्यवाद दिनुभयो । पुल्चोकबाट रथलाई तानेर गावहाल पु¥याइएको रथलाई सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङ्मती पु¥याइन्छ ।
यसरी सुरु भयो भोटो जात्रा
मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले बहुमूल्य गहना र हीराजडित भोटो पाएको किंवदन्ती छ । यसरी उपहारस्वरूप किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले । खोजी गरेर कहीँकतै नपाएका ती किसानले रातो मच्छिन्द्रनाथको जात्रामा आउँदा एक राक्षसले लगाएको देखेर ‘यो भोटो मेरो हो’ भनेर दाबी गरेको किंवदन्ती छ, यसरी दाबी गर्दा दुई जनाबीच व्यापक विवाद हुनपुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेन् । सो विवाद राजासमक्ष पु¥याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रुपमा मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती छ, ।
भोटोजात्रा अवलोकनका लागि प्रत्येक वर्ष राष्ट्रप्रमुख, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरु, मन्त्रीलगायत विशिष्ठ व्यक्तित्वहरु जावलाखेल आउने परम्परा छ । भोटो जात्राको अवलोकनपछि राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन गर्ने परम्परा छ ।
भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिने गरिन्छ । मिननाथको रथ तानेर ललितपुरको टङ्गलमा पु¥याइन्छ ।
काठमाडौँ उपत्यकामा अनावृष्टि भएपछि गुरुजु बन्धुदत्त आचार्य सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरुपकामाक्षा (आसाम) बाट मच्छिन्द्रनाथ काठमाडौँमा ल्याइएको इतिहास छ । संस्कृतिको अध्ययन गर्दै आएका राजेश बज्राचार्यका अनुसार सन् ६४४ देखि ६८० बीचमा रथजात्राको परम्पराको थालनी भएको थियो ।
–––
प्रतिकृया दिनुहोस