• आइतबार-बैशाख-२१-२०८२

सडक कविता वाचनमार्फत गणतन्त्र विरोधी प्रवृत्तिको प्रतिरोध

रत्नपार्कमा राष्ट्रिय जनसाहित्यिक सङ्घको विशेष समारोह सम्पन्न

काठमाडौं, वैशाख २० गते ।  गणतन्त्रविरुद्ध पुनःस्थापनाको दुस्साहस भइरहेको वर्तमान सन्दर्भमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा २०८२ वैशाख २० गते  शनिबार रत्नपार्कमा ‘सडक कविता वाचन विशेष समारोह’ सम्पन्न भयो।

 

सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र महासचिव डा.कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लोकतन्त्र र गणतन्त्रका पक्षमा सशक्त सांस्कृतिक प्रतिवाद प्रस्तुत गरिएको थियो।

 

उक्त कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा.देवी दुलाल क्षेत्री, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, महासङ्घकी उपाध्यक्ष नमुना शर्मा, महासचिव आर.सी. न्यौपाने, वरिष्ठ स्रष्टाहरू उमेश उपाध्याय, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, डा.हरि सिलवाल, रक्तिम लामा, गीता सापकोटा, सोमनाथ दाहाल, गोपालकुमार मैनाली, गङ्गाराम कँडेल, थरेन्द्र बराल, प्रमोद स्नेहीलगायत सहभागी थिए।

 

महासचिव सुवेदीले २०३६ सालमा भवानी घिमिरेको अगुवाइमा सुरु भएको सडक कविता आन्दोलन विभिन्न चरणमा जनआन्दोलनको साझेदार बन्दै आएको इतिहास स्मरण गराउँदै, गणतन्त्रविरुद्धको अराजक मनसायलाई सिर्जनात्मक विरोध गर्न स्रष्टाहरू सडकमै उत्रिनुपरेको उल्लेख गर्नुभयो।

 

अध्यक्ष सत्यालले प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा आयोजित कार्यक्रमले निरङ्कुशताको फँणा उठाउने प्रवृत्तिको विरोधमा स्रष्टाहरूको सशक्त आवाज बुलन्द गरेको बताउनुभयो।

 

कार्यक्रममा कविता, गीत तथा एलाक वाचन गरिँदै देशको राजनीतिक उपलब्धिमाथि प्रहार गर्ने प्रतिगामी प्रवृत्तिविरुद्ध चेतनामूलक सांस्कृतिक हस्तक्षेप प्रस्तुत गरियो।

 

निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीले हाल देखिएको आन्दोलन प्रतिगमनको दुस्साहस मात्र नभई हास्यास्पदपनि रहेको टिप्पणी गर्दै यस्ता प्रवृत्तिविरुद्ध स्रष्टा सचेत र सक्रिय रहनुपर्ने आवश्यकता औंल्याउनुभयो।

 

कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ-आफ्ना सिर्जनामार्फत गणतन्त्रको रक्षा र प्रतिगमनको विरोधमा धारिलो अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस