रौतहट २१ बैशाख । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगरस्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन् ।
आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागुऔषधको कारोवार गर्दै आएका थिए । साहले औषधी ब्यवसायको नाममा लुकिछिपी लागूऔषधको कारोबार गर्दै आएको सूचनाको आधारमा हामीले रेकी गर्दै आएको र आज छापा मारको डिएसपी राईले बताएका छन् ।
आइतबार ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापामारी गरेको हो । छापामारीको क्रममा उक्त मेडिकलबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ४ हजार ५ सय क्याप्सुल बरामद गरिएको डिएसपी राईले जानकारी दिएका छन् ।
आरोपी जितेन्द्र साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित नशालु ट्याब्लेट क्याप्सुल ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए । त्यसपछि आफ्नो सुबिधा अनुसार बागमती, चन्द्रनिगाहपुर क्षेत्रका युवाहरूलाई महंगो मूल्यमा बिक्री गर्नुका साथै राजधानी काठमाडौं सम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको डिएसपी राईले जानकारी दिए ।
चन्द्रपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण मेडिकल सञ्चालकलाई बोलाएर छलफल गरी लागुऔषध कारोवार नगर्न तथा नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको थियो । अनुरोध पछि बिगतमा त्यस्ता कारोवार गर्नेहरुले अहिले छोडेका छन् । तर कतै दर्तानै नभएका केही औषधी पसलेले प्रतिबन्धित लागूऔषध बिक्री गरिरहेको गुनासोको आधारमा निज जितेन्द्र साहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको तथा अन्यको निगरानी भईरहेको डिएसपी राईले बताए ।
आरोपी जितेन्द्रमाथि लागुऔषधसम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस