काठमाडौँ। स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरुका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई वृहत र सुक्ष्म समीक्षा गर्ने निर्णय भएको छ ।
कीर्तिपुर नगरपालिकाले आज आयोजना गरेको ‘काठमाडौँ उपत्यका उपप्रमुख÷उपाध्यक्ष सञ्जाल’ को वैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।
हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा बिज्ञको प्रस्तुतिकरणसहित छलफल गर्ने गरिएको छ । यसरी गरिएको छलफलको प्रभावकारिता र अधिकारको प्रयोगसँगै आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका साझा विषय बैठकमा छलफल हुनेछ । त्यो बैठक काठमाडौँ महानगरपालिकाले आयोजना गर्नेछ ।
२०७९ फागुन ३० गते काठमाडौँ महानगरपालिकाले आव्हान गरेको पहिलो बैठकबाट प्रारम्भ भएको सञ्जालले आज प्रारम्भिक समीक्षासहितको १०औँ वैठक सम्पन्न गरेको छ । हरेक महिना फरक पालिकाका उपप्रमुख÷उपाध्यक्षको अध्यक्षतामा बैठक आयोजना हुने गरेको छ ।
हरेक बैठकले आगामी बैठक आयोजना गर्ने पालिका र बैठकमा छलफल गर्नु पर्ने विज्ञ प्रस्तुतिसहितको विषय निर्धारण गर्ने गरेको छ । यस क्रममा आजको बैठकको अध्यक्षताका लागि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यलाई बैठकको निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।
कानुनले उपप्रमुख÷उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने सञ्जाल गठनको उद्देश्य हो ।
बैठकमा बोल्दै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले, सञ्जालमा आपसी ज्ञान, सिप र क्षमता आदान प्रदान गरेपछि अधिकारको व्यवस्थित प्रयोगलाई पूर्ण बनाउने मद्दत हुने धारणा राख्नुभयो ।
उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि साझा बुझाइ निर्माण गर्न, उपप्रमुख र उपाध्यक्षहरुलाई निक्षेपण गरिएको अधिकारबाट नगरबासीलाई अधिक लाभ दिने क्षमता विकास गर्ने कार्यका लागि सञ्जालको प्रयोग गर्नु पर्ने महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले धारणा राखिन् ।
यस्तै उपप्रमुख शुभलक्ष्मी शाक्यले, नगर विकास र सेवाका लागि समान दृष्टि निर्माणका लागि सञ्जालले काम गरिरहेको धारणा राखे । अघिल्लो बैठकका अध्यक्ष गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले, नेपाल भाषा र तामाङ् भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्ने विषयमा अघिल्लो बैठकले दिएको पृष्ठपोषण लाभदायक भएको उल्लेख गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले, उपत्यकाको एकीकृत विकासका लागि सञ्जालमा गरिने छलफलले नतिजामा योगदान दिने धारणा राखे ।
अवलोकनपछि वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले, कीर्तिपुरका विकास पद्धति, धार्मिक, सामाजिक सम्पदा, पर्यटन तथा अन्य सहकार्यका सम्भावना, काठमाडौँ महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको युद्ध स्मारक पार्कका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
त्यस क्रममा उपत्यकाका पालिकाहरुका राजस्वको दरमा समानता प्रदान गर्ने सम्भावना, पर्यटन प्रवर्धन र व्यवस्थापनका साझा कार्यक्रम, जात्रा पर्व सञ्चालनका लागि फरक फरक पालिकामा भएका सम्पदा स्थलहरुको सम्बन्धलाई उजागर गरेर आन्तरिक धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धनलाई महसुस योग्य नतिजामा रुपान्तरण गर्नुपर्नेमा जोड थियो । वैठक अघि टौदह, चोभारको मञ्जुश्री गुफा, बाघ भैरवलगायत स्मारकहरुको स्थलगत अवलोकन भ्रमण गरिएको थियो ।
सञ्जालमा उपत्यकाका २ वटा महानगरपालिकासहित १८ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी २१ वटा स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष सञ्जालका सदस्य हुन् ।
प्रतिकृया दिनुहोस