काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३१ नयाँ बानेश्वरस्थित ठेक्का पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्दै आएको ध्रुव कन्स्ट्रक्सन प्रा.लि. (स्था. ले.नं. ६०९७५४५११) का सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको, बिजकहरु सिलसिलेवार जारी नगरेको, मू.अ.कर विवरण र आय विवरण दाखिला नगरेको, मू.अ. कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मू.अ.कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित कार्य गरी ऐ. ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि भएकोले उनीविरुद्ध मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार ८२४ गरी जम्मा रकम ६० करोड ४६ लाख १५ हजार २५८ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी जम्मा १ अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपैयाँ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदाबी गर्दै विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो ।
प्रतिकृया दिनुहोस