• मंगलबार-बैशाख-२३-२०८२

बाँच्न बाँकी पत्रकारिता : नेपाली प्रेसको आत्मदर्पण

 

हरेक वर्ष मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रचलन छ । यस वर्ष युनेस्कोले ‘साहसिक नयाँ विश्वमा पत्रकारिता ः प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ (Reporting in the Brave New World, The Impact of Artificial Intelligence in Press Freedom and the Media) भन्ने नारालाई यस दिवसको सन्देशका रूपमा अघि सारेको छ ।


विश्वभर प्रेस स्वतन्त्र भएमा उसले सरकारका गलत काम र अकर्मण्यताको विरोधमा सत्य सूचना सम्प्रेषण गरेर सरकारलाई जवाफदेही बनाउने मान्यता रहिआएको छ । यही कारण प्रेसलाई “राज्यको चौथो अङ्ग’’ पनि भनिन्छ । तर, यदि प्रेस स्वयं सत्ता proximity खोज्न थाल्छ, सत्ताका विरुद्ध आवाज उठाउन चुक्छ, असत्य सूचना सम्प्रेषण गर्छ, वा गैह्रसंवैधानिक क्रियाकलापको बचाउ वा ढाकछोप गर्छ भने त्यो प्रेस स्वतन्त्र भए–नभएकोमा खासै अर्थ रहँदैन । त्यसले न त जनताको हितमा बोल्न सक्छ, न त राज्यलाई जिम्मेवार बनाउने भूमिका निर्वाह गर्न ।


नेपालमा पनि प्रेसको एक ठुलो र प्रभावशाली हिस्सा सत्ता पक्षप्रति अत्यधिक आग्रह राखेर काम गर्दै आएको देखिन्छ । कतिपय मिडियाले विदेशी वा बाह्य शक्तिहरूको नेपालमाथिको हस्तक्षेपको समेत बचाउ गर्दै आएको उदाहरणहरू भेटिन्छन् । यस्तो रवैयाले प्रेस स्वतन्त्रताको सारतत्त्वमा गम्भीर प्रश्न उठाउँछ ।


२०८१ चैत १५ गते तीनकुनेमा भएको विरोध प्रदर्शनका क्रममा सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि गरेको दमन र सुरक्षाकर्मीद्वारा गरिएको बल प्रयोगबारे एमनेस्टी इन्टरनेशनलले पनि आपत्ति जनाएको छ । राष्ट्रिय गान गाइरहेका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको भिडियो विश्वभर फैलिएको छ । सुरक्षाकर्मीको गोली चलाउँदा एकजनाको मृत्युसमेत भएको जानकारी सार्वजनिक भइसकेको छ । सो दिन पक्राउ परेका कतिपय नेता अझै प्रहरी हिरासतमा छन् । तर, यति गम्भीर घटनामा पनि नेपाली प्रेसको ठूलो हिस्साले सरकारकै पक्षमा स्वर मिलाएको देखियो । बल प्रयोगको दोषसमेत आन्दोलनकारीहरूकै काँधमा थोपर्न खोजिएको अनुभूति व्यापक छ ।


प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा विचार गर्दा सो घटनाले प्रेसको वस्तुनिष्ठता, स्वतन्त्रता र जवाफदेहिता सबैमाथि गम्भीर प्रश्न उठाएको छ । घटनास्थलमा मृत्यु भएका पत्रकार वा घाइतेहरूको निस्पक्ष छानबिनको मागसमेत उठेको देखिएन । बरु सरकारको अपारदर्शी कार्यको समर्थन गर्ने प्रवृत्ति नै अगाडि देखियो । प्रेस राजनीतिक र वैचारिक आग्रहका आधारमा समाचारको तस्बिर तोडमोड गरेर प्रस्तुत गर्छ भन्ने आरोपलाई यस घटनाले बलियो बनाएको छ ।


अर्कोतर्फ, नेपालका कतिपय मिडिया हाउससँग सम्बन्धित व्यक्तिहरूको आचरणमाथि उठेका प्रश्नहरूबारे अनुसन्धानको प्रयत्नहरूलाई समेत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा बुझ्ने प्रवृत्ति देखिएको छ । कतिपय सञ्चारकर्मीले तथ्यको गहिराइसम्म नपुगी, स्वार्थअनुरूप सूचना सम्प्रेषण गर्ने गरेका छन् । खासगरी सत्ता पक्षमा रहेका व्यक्तिमाथि काल्पनिक आरोप लगाएर दोषारोपण गर्ने वा विपक्षमा रहेका व्यक्तिका त्रुटि ढाकछोप गर्ने प्रवृत्तिले प्रेसको निष्पक्षतामाथि थप शंका उत्पन्न भएको छ ।


 नेपालमा प्रेसले नाम र दाम त कमाएको छ, तर साँचो अर्थमा स्वतन्त्र, वस्तुनिष्ठ र सत्यनिष्ठ पत्रकारिताको उचाइ प्राप्त गर्न सकेको छैन । प्रेस स्वयंले आफू निकटका वा आफूसँग सम्बन्धित व्यक्तिका गलत कार्यमाथि बोल्न नचाहने प्रवृत्तिलाई पनि प्रेसको अर्को अँध्यारो पक्षका रूपमा लिन सकिन्छ  ।


त्यसैले विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाली प्रेसले आत्ममूल्यांकन गर्न आवश्यक छ । कृष्ण, बुद्ध, कन्फ्युसियसजस्ता महामानवहरूले भनेझैँ–“तिमीलाई अरुले तिमीसित जसरी व्यवहार गरेको मन पर्दैन, त्यसरी नै अरूसँग व्यवहार नगर्नू’’ भन्ने शिक्षाको अनुसरण गर्दै सत्य तथ्यमाथि आधारित सूचना सम्प्रेषण गर्न सक्ने साहस देखाउन सकिएमा मात्र प्रेस साँचो अर्थमा राज्यको चौथो अङ्ग बन्न सक्छ । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)

प्रतिकृया दिनुहोस