काठमाडौँ, २ जेठ : चन्द्रागिरि नगरपालिकाले ‘आरआर कम्प्लेक्स’ का आगलागी पीडितलाई रु २५ हजार सहयोग गर्ने भएको छ । चन्द्रागिरि–११ सतुङ्गलस्थित ‘आरआर कम्प्लेक्स’ मा सञ्चालित ‘बुटिक’ को सटरमा बिहीबार बिहान अकस्मात आगलागी हुँदा रु छ करोड ८१ लाख बराबार क्षति भएको थियो ।
नगरकार्यपालिकाको आकस्मिक बैठकले आगलागी पीडित व्यवसायी र घरधनीलाई तत्काल रु २५ हजार सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिको आँकलन सम्बन्धित पक्षबाट सङ्कलन गर्ने काम जारी छ, यो कार्य सकिएपछि अन्य के-कति सहयोग गर्न सकिन्छ छलफल गर्ने छौँ ।”
विसं २०७२ को विनाशकारी भूकम्पले घर भत्काएपछि सोही स्थानमा राजकुमारसिंह महर्जनले ‘आरआर कम्प्लेक्स’ निर्माण गर्नुभएको थियो । चन्द्रागिरि–११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठका अनुसार सो कम्प्लेक्समा रहेका १४ व्यवसायी र घरधनीको आगलागीबाट करिब रु छ करोड ८१ लाख बराबार क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यसैबीच व्यवसायी र घरधनी महर्जनले रु १० करोडभन्दा बढीको क्षति भएको बताउँदै आएका छन् । आगलागी नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको स्थानीयवासीको भनाइ छ । आगलागी नियन्त्रणमा लिन तीनवटै सुरक्षा निकायका तालिम प्राप्त जनशक्तिसहित स्थानीयवासी, चन्द्रागिरि नगरपालिका, नेपाल आयल निगमसहित काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएका वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच चन्द्रागिरि नगरपालिकाले एक सूचना जारी गरी गर्मी तथा सुक्खा मौसमका कारण आगलागीका घटना हुने जनाउँदै सावधानी अपनाउन नगरवासीलाई विशेष आग्रह गरेको छ । सूचनामा एलपी ग्यास तथा विद्युतीय सामग्री प्रयोग गरिसकेपछि अनिवार्य रूपमा निभाउन, घरको भान्सा, व्यवसाय, पसलमा विद्युतीय जोखिम भएका स्थानमा फायरबल वा फायर एक्सटिङ्ग्विसर (आगो निभाउने यन्त्र) राख्न, आफ्नो नजिकको विद्युतीय खम्बामा आगलागी भएमा नजिक रहेको फायर एक्सटिङ्ग्विसर ले आगो निभाउन, विद्युतीय सामान बन्द गर्ने/गराउने र प्रहरीमा तत्काल खबर गर्न आग्रह गरिएको छ ।
साथै आफ्नो पसल, व्यवसाय, उद्योगको बिमा गर्न, आफ्नो घर तथा व्यवसाय विपद्का दृष्टिले जोखिम भए पूर्वसावधानी अपनाउन, वन डढेलो लाग्न नदिन आफ्नो घर आँगन तथा खेतबारीमा कसिङ्गर, फोहर, कृषिका अवशेष नबाल्न र बाल्न नदिन, घर, सडक, सार्वजनिक स्थानमा धुलोधुवाँ उत्सर्जन हुने कार्य नगर्न/नगराउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।
---
प्रतिकृया दिनुहोस