• शनिबार-जेठ-३-२०८२

"फोहोर नगरौं" भन्ने चेतना नै अबको असली सरसफाई ! 

प्लास्टिक होइन, परिर्वतन बोकेर हिँडौं


नेपालगञ्ज/कोहलपुर। "तरकारीमा मिठो जिरा, लागूपदार्थ खानेको मुखमा किरा !" यस्तै नारा घन्किरहेका थिए २०८२ जेठ ३ गते शनिबार कोहलपुरका सडकमा, जहाँ फोहोर उठाउनु मात्र हैन, फोहोर नगर्न सन्देश दिनु मुख्य उद्देश्य थियो।

कोहलपुरको झण्डहा चोकदेखि पिपरी चौकसम्म फैलिएको यस बृहत् सरसफाई अभियानमा युवा, विद्यार्थी, स्थानीयबासी, नगरपालिकाका पदाधिकारीदेखि बास नेपालका स्वयंसेवकहरूसम्म सक्रिय देखिए।

फोहोरमुक्त कोहलपुर, साझा सपना

“सरसफाई गरौं भन्दा पनि अब ‘फोहोर नगरौं’ भन्ने सोच जरूरी भएको छ,” सहभागी यमुना घिमिरेको भनाइले कार्यक्रमको सार प्रष्ट पार्थ्यो।


कार्यक्रममा प्लास्टिकजन्य फोहोर घटाउन विशेष जोड दिइएको थियो। स्यामबहार, सुर्ती, मेघाश्री जस्ता चुरोट र सुपारीका ब्रान्डका प्याकेटहरू धेरै भेटिएपछि सहभागीहरूले ती ब्रान्डप्रतिको सचेतता पनि माग गरे।

 

प्लास्टिक होइन, परिर्वतन बोकेर हिँडौं


"प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकलको बानी बसालौं" भन्ने स्लोगनसहित कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रम बास नेपालको आयोजनामा, कोहलपुर नगरपालिका वडा नं. ८ को सहकार्य र रेस्टलेस डेभलपमेन्ट, क्रियसन नेपाल तथा युथ इनोभेसनको सहयोगमा सम्पन्न भयो।

 

सबैको सहभागितामा मात्रै सम्भव छ स्वच्छ कोहलपुर


कार्यक्रममा एक सयभन्दा बढी सहभागी थिए, जसमा 'द एक्जाम गुरु एकेडेमी'का विद्यार्थीहरू, सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीय बासिन्दाहरू उत्साहपूर्वक जुटेका थिए।


वडा अध्यक्ष लाल बहादुर रानाले पनि समापनमा बोल्दै यस्तो सचेतनामूलक अभियानलाई भविष्यमा अझ सहकार्यसाथ अघि बढाउने प्रतिवद्धता जनाए।

 

बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले फोहोर व्यवस्थापनमा सबैको दायित्व रहेको बताउँदै प्लास्टिक प्रयोग न्यूनीकरण आजैदेखि सुरू गर्न आग्रह गरिन्।

 

निष्कर्ष:
फोहोर उठाउने हात र फोहोर नगर्ने सोच-दुवैको संगम नै हो स्वच्छ समाज निर्माणको बाटो। कोहलपुरबाट उठेको यो सन्देश अब देशभर फैलिनु समयको माग हो। 🌿

प्रतिकृया दिनुहोस