काठमाडौं, २०६२ जेठ ६ – गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर, संगीत र शब्दमा तयार भएको भावपूर्ण भजन ‘हे हरि’ सार्वजनिक गरिएको छ। धार्मिक चेतना, आत्मबोध र भक्ति भावले भरिएको यो भजन बबिनाकै आध्यात्मिक युट्युब च्यानल ‘श्री भजन्स्’ मार्फत सार्वजनिक भएको हो।
‘हे हरि’ भजन भगवान श्री हरिप्रति समर्पित भावनात्मक प्रार्थना हो, जसमा एक भक्तले आफ्नो जीवनको उत्तरार्धमा आइपुग्दा आध्यात्मिक अभ्यासको उपेक्षा गरेकोमा पश्चात्ताप व्यक्त गर्दै, भगवान श्री हरिसँग आत्मिक मिलनको चाहना प्रकट गरेका छन्।
“भेटौं म तिमीलाई के गरी, जनम बेकार मेरो जानु छ एक दिन मरि...”
यी हरफले भजनको मूल मर्म प्रकट गर्छन् — आत्मसमीक्षा, भुलको स्वीकारोक्ति, र अबको जीवनलाई आध्यात्मिक बाटोमा मोड्ने आकांक्षा।
भजनमा भक्तले शास्त्र पढ्न नपाएको, तीर्थ नगएको, ध्यान नलगाएको, गुरुलाई मान नदिएको यथार्थ उजागर गरेका छन्। साथै, मोह-मायाको भवसागर कसरी पार गर्ने भन्ने चिन्तामा डुबेका छन्। शरीर नाशवान् छ, मन चञ्चल छ — यस्तो अवस्थामा प्रभुको शरणमा जाने भावनाले भजनलाई अत्यन्त मार्मिक बनाएको छ।
भजनको अर्को पाटोमा ‘श्री हरि’ को सर्वव्यापकता वर्णन गरिएको छ:
यी हरफहरूले देखाउँछन् कि भगवान मन्दिरमा मात्र होइन, प्रत्येक प्राणीको हृदयमा वास गर्नुहुन्छ। आत्मबोधको अन्तिम बिन्दुमा भक्त भन्छन् –
“तिमी खोजे मन्दिरमा रहेछौ तिमी मन भरि...”
यहाँ धार्मिक स्थलगत खोजभन्दा आत्माभित्रको खोज बढी महत्वपूर्ण रहेको सन्देश दिइएको छ।
भजन ‘हे हरि’ को भिडियोमा गायिका बबिना भट्टराई आफैँ फिचर्ड भएकी छन्। काठमाडौंको प्रसिद्ध धार्मिक स्थल गोकर्ण क्षेत्रमा छायांकन गरिएको यस भिडियोको निर्देशन ए.जे. अजय ले गरेका हुन् भने, सम्पादन र कलर ग्रेडिङ अनिल विष्ट प्युठानी ले गरेका हुन्।
गायिका बबिना भट्टराईले यस भजनमार्फत नेपाली भजनप्रेमीहरूका लागि आध्यात्मिक चिन्तन र आत्मसाक्षात्कारको एउटा ढोका खोल्ने प्रयास गरेकी छन्। उनले आगामी दिनहरूमा पनि ‘श्री भजन्स्’ च्यानलमार्फत विविधतायुक्त भजनहरू ल्याउने बताएकी छन्। साथै, उनले दर्शक-श्रोतासमक्ष च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट, र शेयर गरी साथ दिन आग्रह गरेकी छन्।
गायन तथा संगीतमार्फत धर्म, अध्यात्म र भक्तिमा सक्रिय बबिना भट्टराईका स्वरमा यसअघि पनि भगवान श्री कृष्ण, राम र महादेवसम्बन्धी भजनहरू सार्वजनिक भइसकेका छन्। नेपाली सुगम संगीतमा पनि उनले थुप्रै गीत र गजलहरूमा आवाज दिइसकेकी छन्।
भजन ‘हे हरि’ ले निश्चय नै धर्म, भक्ति र अध्यात्मप्रति आस्था राख्ने सबैलाई छुनेछ।
प्रतिकृया दिनुहोस