• मंगलबार-जेठ-६-२०८२

 मदन नगर बल्खुकाे त्याे विरक्त मञ्च ! :स्मृति सभामा निरसता, एमाले हाइकमाण्डमा चिसोपन(भिडियाे सहित) 

जेठ ३ गते : केही वर्षदेखि जोश, जाँगर, मन छुने ‘मोमेन्ट’ हराएको मञ्च !!


काठमाडौं । स्थान : बल्खुस्थित मदन नगर, मिति : जेठ ३, २०८२  । मंचमा आसिन एमालेका हाइकमाण्डको अनुहार गम्भीर, संवाद शून्य । अध्यक्ष ओली श्रोतामुखी भन्दा पनि ‘प्रोटोकल’ जस्तै । महासचिव पोखरेलले मन्तव्य भनिए पनि मूल सन्देश ओलीको प्रशंसामा सीमित ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मौन, तर उपस्थितिले चर्चा चुलिएको । मञ्चमा बस्दासम्म नेताहरूबीच नजरको आदानप्रदानसम्म भएन । सभामा नेता, कार्यकर्ताहरू अनुशासित, तर जोशहीन । जोश, जाँगर, मन छुने ‘मोमेन्ट’ हराएको अनुभूति ।

 

पार्टीको आन्तरिक समीकरणमा उनको भूमिकाले दुई धार उत्पन्न भएको चर्चा तीव्र बन्दै गएको छ । भण्डारीको पक्षमा सातै प्रदेशमा कार्यकर्ता र नेताहरूको ‘जुर्मुराउन’ थालेको पार्टी वृत्तमै स्वीकारिएको छ ।

 


मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउने अवसरमा नेकपा एमालेले बल्खुस्थित मदन नगरमा आयोजना गरेको श्रद्धाञ्जली समारोहमा नेताहरूको यस्तो उपस्थिति र अभिव्यक्तिहरूबाट पार्टीभित्रको उत्साह र एकताको सन्देश भने झल्किएन ।


प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, र आश्रित पत्नी माया ज्ञवालीको उपस्थिति रहेको कार्यक्रममा मन्तव्यहरू औपचारिकतामै सीमित देखिए ।


कार्यक्रममा अध्यक्ष ओलीको भाषणले कार्यकर्तामा ऊर्जा र दृष्टिकोण दिने अपेक्षा गरिएको थियो, तर त्यसतर्फ कुनै विशेष ‘सन्देश’ आएन । अर्कोतर्फ मदन भण्डारी र जीवराज आश्रितको स्मृतिसभामा महासचिव शङ्कर पोखरेलको मन्तव्य कार्यकर्ताको जोश जगाउनेभन्दा पनि ओलीको स्तुतिगानमै केन्द्रित रह्यो ।


मञ्चमा रहेका नेताहरूबीच हार्दिकता, संवाद र आत्मीयता नदेखिएको दृश्यले एमाले नेतृत्व तहमा चिसोपन र मनोमालिन्यको संकेत दिएको छ ।


विशेष चर्चा कमाएको अर्को पक्ष भनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा सक्रियता हो । पार्टीको आन्तरिक समीकरणमा उनको भूमिकाले दुई धार उत्पन्न भएको चर्चा तीव्र बन्दै गएको छ । भण्डारीको पक्षमा सातै प्रदेशमा कार्यकर्ता र नेताहरूको ‘जुर्मुराउन’ थालेको पार्टी वृत्तमै स्वीकारिएको छ ।


‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारी र शहीद आश्रितको स्मृति दिवस, जुन दिन राष्ट्रिय विचार र भावनाको पुनर्संस्करण हुने अवसर बन्न सक्थ्यो, त्यो दिन निरस र भावनाविहीन औपचारिकतामा सीमित हुनु एमाले नेतृत्वको चिन्ताजनक मनोविज्ञानको संकेत हो ।


एमाले नेतृत्वले चा“डै आत्मसमीक्षा नगरे निर्वाचन, संगठन र जनसम्पर्क सबै मोर्चामा चुनौती व्यहोर्नुपर्ने स्पष्ट देखिंदैछ ।
स्मृति दिवस एमालेका लागि शक्ति, विचार, हार्दिकता र भावनाको प्रदर्शन हुने अवसर हो । तर, यसपटक देखिएको दृश्यले पार्टीको अन्तरविरोध र नेतृत्वको एकताको कमी झल्कियो । एमालेमा पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले ओली नेतृत्वमा वैचारिक ‘च्यालेन्ज’ सुरु भइसकेको सन्देश दिएको छ ।


पार्टीभित्र एकता, संवाद र आत्मसमीक्षाको खाँचो तीव्र रूपमा महसुस गरिंदैछ । एमाले यदि आफ्नो ऐतिहासिक गम्भीरतालाई बिर्सिंदै जाने हो भने, आगामी दिन झनै चुनौतीपूर्ण हुने पक्का छ ।

प्रतिकृया दिनुहोस