काठमाडौं, जेठ २७ । तीस वर्षअघिको समयलाई समेट्दै अहिलेको पुस्तासम्मको प्रेम र नियतिको जालो भित्र लपेटिएको टेलिसिरियल ‘वाचा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । ऐतिहासिक प्रेमकथालाई समकालीन भावनासँग गासिएको यो टेलिसिरियल ओएसआर डिजिटल युट्युव च्यानलमार्फत यही जेठ ३१ गतेदेखि प्रत्येक शनिबार साँझ ७ बजे प्रसारण हुने भएको छ।
कमल बुढाथोकीको प्रस्तुति र दीपा बुढाथोकीसँगको सह-निर्माणमा तयार भएको यो टेलिसिरियलमा यज्ञजंग विक (आयुष)ले लेखन तथा निर्देशन सम्हालेका छन् । कार्यकारी निर्माताको भूमिकामा हेमराज घर्ती रहेका छन् ।
ट्रेलरमा नियतिको बन्दी बनेको अमर र अजर प्रेम कहानी झल्किन्छ । दुई पुस्ताको कथालाई एउटा ऐतिहासिक सन्दर्भसँग जोडेर निर्माण गरिएको ‘वाचा बन्धन’को ट्रेलरले दर्शकमाझ कौतुहलता सिर्जना गरिरहेको छ।
चर्चित अनुहार र नयाँ सम्भावना
सकम्वरी नामले चिनिएकी मोडल कुशुम शर्मा यस सिरियलमा मुख्य भूमिकामा देखिएकी छिन् । उनलाई साथ दिएका छन् – सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, सुभाष गजुरेललगायतका कलाकारहरूले ।
त्यस्तै, प्रेमदेव गिरि, सविन वास्तोला, प्रिया रिजाल, आयुष विसी, यादव गिरि र प्रशान्त मगरसहित दुई दर्जन नयाँ तथा अनुभवी कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ।
प्रविधिमा पनि आधुनिकता
टेलिसिरियलको छायांकन शिव विकले गरेका हुन् भने दृश्य सम्पादन उमेश थापा मगरले गरेका छन्। प्रविण ढकालले कलर ग्रेडिङ गरेका छन् र भिएफएक्सको जिम्मेवारी रतिश भारतीले सम्हालेका छन्।
निर्माण नियन्त्रण नेत्र विष्टले, पोस्टर सविन गायकले र गीत-संगीत एरेन्ज आकाश मगरले गरेका छन् । गायक रामचन्द्र काफ्लेको सुमधुर स्वरले सिरियललाई भावनात्मक उचाइ दिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
पोष्ट-प्रोडक्सन मुभी प्वाइन्टमार्फत गरिएको सिरियलका दृश्यहरू ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरीबाङ क्षेत्रका रमणीय स्थलहरूमा छायांकन गरिएको छ।
‘वाचा बन्धन’को आशा र दावी
निर्माण पक्षले यो टेलिसिरियललाई वर्तमानका अन्य टेलिसिरियलभन्दा गुणस्तरीय, फरक र मन छुने कथा बोकेको दावी गरेको छ। प्रेम, वियोग, त्याग र आशाको भावनालाई जीवन्त बनाउने उद्देश्यसहित निर्माण गरिएको ‘वाचा बन्धन’ दर्शकले आत्मसात् गर्नेमा टिम विश्वस्त देखिन्छ।
ओएसआर डिजिटलमार्फत प्रसारण हुने यस टेलिसिरियलले नेपाली सिरियल क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस