काठमाडौँ, २७ जेठ : एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ ।
न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो ।
लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए ।
खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो । नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ मिनेटमा फाउल हाने । त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त ग¥यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरे ।
त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता ग¥यो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दुई खेलको समाप्तिमा नेपालले अङ्कको खाता खोल्न सकेको छैन ।
यसैगरी नेपाल र लाओस यसअघि छ पटक आमने सामने भएका थिए । जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए ।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन् । नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ ।
---
प्रतिकृया दिनुहोस