पाटन (ललितपुर), २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभयो ।
“झुटमुटमा क्रिटिकल हुनुपर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवाञ्छित आरोपबाट रातोपाटी बचेको छ, मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्ना लागि सत्य बङ्गयाइहाल्नुपर्ने खालको प्रवृत्ति हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर रातोपाटी अघि बढ्न सकेकामा प्रशंसा गर्नुभयो । रातोपाटी अनलाइनलाई यसको सङ्घर्ष र सफलताका लागि शुभकामना दिँदै आजको बदलिँदो परिवेशमा डिजिटल दुनियाँमा यसको सक्रियताका लागि धन्यवाद दिनुभयो ।“इमानदारको खडेरी देशमा पर्नु हुँदैन । कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?” प्रटधानमन्त्रीले भन्नुभयो ।
उहाँले रातोपाटी डटकमले थुप्रै अनलाइनमध्ये असाधारण ढङ्गले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापनसहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धमा लागेर सहासिक योगदान गर्नुहुने देवी खड्कालाई पचास हजार नगद पुरस्कारसहित सम्मान गर्नुभयो । त्यस्तै उहाँले संविधान संशोधन किन र के मा ? विषयक पुस्तकको अनावरण एवं सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री ओलीले विमोचित पुस्तकले संविधान संशोधनसम्बन्धी छलफल र बहसलाई सहज बनाउने छ, भन्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भोकभोकै बसेर २०४६÷४७ सालदेखि पत्रकारितामा लाग्नुभएका ओम शर्माले सुरू गरेको रातोपाटी डटकमले उत्कृष्ट यात्रा तय गरेको बताउनुभयो । उहाँले लोकतन्त्रमा सत्ताधारीलाई गल्ती गर्नबाट सचेत गराउने माध्यम भनेको सञ्चार माध्यम हो भन्दै आलोचनात्मक चेतलाई कायम राख्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
समारोहमा मन्तव्य राख्नुहुँदै पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी दिनमा सशक्त र प्रभावकारी रूपमा अनलाइन सञ्चारमाध्याम सञ्चालन हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको सञ्चार क्षेत्रमा यस किसिमको पहल उदाहरणीय रहेको भन्दै यसले नेपालीको आवाजलाई तथ्य र यथार्थ ढङ्गले सम्प्रेषण गरेर महत्त्वपूर्ण योगदान पु¥याएको छ भन्नुभयो ।
संस्थापक ओम शर्माले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दै कसैप्रति वैरभाव नराखी जनताले खोजेको सुखी र समृद्ध नेपाल निर्माणमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकासको रफ्तार बढाउँदै साहसपूर्वक अगाडि बढ्नका लागि सतर्कता अपनाउँदै अगाडि बढ्ने बताउनुभयो । रातोपाटी डटकम २०७० जेठ २७ गते सुरू भएको हो ।
---
प्रतिकृया दिनुहोस