मुम्बई, २७ जेठ । अन्ततः नवजोत सिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिने भएका छन्, जसको प्रोमो पनि सार्वजनिक भएको छ ।
विशेष कुरा के छ भने उनले अर्चना पूरण सिंहको कुर्सी खोसेनन्, बरू उनको छेउमा कुर्सी लगाएर बसे । यसको मतलब कपिलको शोमा पहिलो पटक एक होइन, दुई दुई जना जज रहने भएका छन् ।
द ग्रेट इन्डियन कपिल शोको प्रोमोमा कपिल शर्माले जज अर्चना पूरन सिंहको आँखामा पट्टी बाँधेर उनलाई कतै लगेर ठूलो सरप्राइज पाउन लागेको देखाइएको छ । उनी कार, घर वा अरु केही लिने हो कि भनेर अनुमान गर्छिन् तर कपिलले आँखाको पट्टी हटाएर नवजोत सिंह सिद्धुलाई आफ्नो अगाडि देखे पछि उनलाई चक्कर लाग्न थाल्छ ।
यसपछि कपिलले आफ्नो शोमा पहिलो पटक दुईजना जज देखिने बताएका छन् । अब अर्चनासँगै नवजोत पनि शोमा फेरि खटक खटक बोल्दै देखिने भएका छन् । नवजोतले सेटका केही तस्बिर पनि सेयर गरेका छन्, जुन सुटिङका तस्विर हुन् ।
यी तस्विरमा सलमान खान पनि देखिएका छन् । उनीसँगै सुनिल ग्रोवर र कृष्णा अभिषेक पनि छन् । दुबै सलमान र शाहरुखको अवतारमा छन्, जुन निकै चर्चित रहेको छ ।
शोको पहिलो एपिसोड सलमान खानबाट सुरु हुने बताइएको छ । दोस्रो शृङ्खलामा ‘मेट्रो इन दिन’ का कलाकारहरू देख्न सकिन्छ । यो शो जुन २१ मा राति ८ बजे प्रशारण हुनेछ ।
प्रतिकृया दिनुहोस