काठमाडौँ, २८ जेठ : प्रहरी महानिरीक्षक दीपक थापाले स्वास्थ्य सेवाजस्तो महत्वपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीले सामूहिक भावनाका काम गर्ने निर्देशन दिनुभएको छ ।
आज नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहारमा काम गर्न आग्रह गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै आकस्मिक कक्ष, विभिन्न विभाग, वार्ड, फार्मेसीलगायत विभिन्न युनिटको निरीक्षण तथा अवलोकन गर्नुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु,प्राविधिक प्रहरी उपरीक्षक डा समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोषसम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णय, कर्मचारी लक्षित कार्यक्रम, समस्या तथा चुनौती र भावी कार्ययोजनालगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
–––
प्रतिकृया दिनुहोस