• शुक्रबार-जेठ-३०-२०८२

कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल–चीन सहमति कार्यान्वन हुँदै जानेछ : अध्यक्ष दाहाल


मुस्ताङ, २८ जेठ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरलानाकामा चीन सरकारले भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोष्टलगायत भौतिक संरचना निर्माण गरी दिने सहमति गरेको बताउनुभएको छ ।

 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले आज आयोजना गरेको जिल्लास्थित सरकारी कार्यालयसँगको छलफल तथा अन्तक्रियामा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका बेला भएको सहमतिअनुसार काम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
 

सहमतिअनुसार नेपाल पक्षले नै कोरला पूर्वाधार निर्माणका लागि स्पष्ट खाका पेस गर्न नसकेकै कारण पूर्वाधार निर्माणमा ढिलाइ हुन पुगेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्नका लागि चीन सरकार अहिले पनि तयार रहेको उल्लेख गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मुस्ताङको थासाङ गाउँपालिकाको लेते—कुञ्जो जोड्ने अलपत्र अवस्थामा रहेको मोटरेवल पुल अवलोकन गर्नुहुँदै । तस्बिरः सुन्दरकुमार थकाली/रासस

 

कोरला सडक मुस्ताङको मात्रै नभइ समग्र राष्ट्रकै लागि आर्थिक समृद्धिको मेरूदण्ड भएकाले यसको रणनीतिक र दीर्घकालीन महत्त्व रहेको अध्यक्ष दाहालको भनाइ छ । कोरला नाकालाई पर्यटन र अन्तरराष्ट्रिय व्यापार तथा पारवाहन प्रवर्द्धनका लागि नाकामा संरचना बनाइदिन पर्‍यो भनेर प्रस्ताव राखेको उहाँले उल्लेख गर्नुभयो ।

 

कोरला सडक आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न र सडक स्तरोन्नतिलाई तीव्रता दिन सकेमात्रै नेपालकै आर्थिक क्रियाकलापमा यस नाकाबाट योगदान पुग्ने अध्यक्ष दाहाले विश्वास व्यक्त गर्नुभयो । 

 

एक अर्को प्रशङ्गमा माओवादी अध्यक्ष दाहालले मुस्ताङको धार्मिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक रूपले विशिष्ट जिल्ला भएकाले यहाँ राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटक आउने गरेको बताउनुभयो । उहाँले एक्याप, स्थानीय तह र वनको त्रिकोणात्मक समस्या र चुनौती रहेको आफूले महसुस गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय मञ्चले नेपाललाई रू ५० करोड बजेट जलवायु अनुदान दिने सहमति गरेको भए पनि त्यसपछिको सरकारले त्यसप्रति खासै चासो नदिएको उहाँको भनाइ छ ।
---

 

प्रतिकृया दिनुहोस