• बिहीबार-जेठ-२९-२०८२

इमरान खानकाे मुद्दामा आज सुनुवाइ हुँदै, आजै रिहा हुने समर्थककाे दावी

 

इस्लामवाद, २८ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानमाथीकाे मुद्दामा आज सुनुवाइ हुँदैछ ।

 

जुन ११ मा हुने साे सुनवाइमा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी उनका समर्थकहरूले गरिरहेका छन । उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका छन् ।

 

७२ वर्षीय इमरान खान अगस्ट २०२३ देखि अदियाला जेलमा रहेका छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन रहेका छन् । मुख्यगरी, अल-कादिर ट्रस्ट मुद्दा यी मामिलाहरूमध्ये सबैभन्दा उच्च प्रोफाइलकाे मुद्दा हो, जसमा पूर्व प्रधानमन्त्री र उनकी पत्नीलाई भ्रष्टाचारको गम्भीर आरोप लगाइएको छ ।

 

पीटीआईका प्रख्यात वकिल र नेता गौहर अली खानले जुन ११ पार्टीका संस्थापक र उनकी पत्नीका लागि महत्त्वपूर्ण दिन साबित हुनसक्ने बताए । धरौटीमा रिहा हुनुको ठोस कारण नखुले पनि अदालतबाट अवश्य राहत पाउने विश्वास व्यक्त उनले अहिले पनि गरेका छन् ।

 

यो मुद्दा युनाइटेड किंगडमको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) द्वारा सम्पत्ति व्यावसायी मलिक रियाजको परिवारबाट १९० मिलियन पाउन्डको रकमसँग सम्बन्धित रहेको छ । यो रकम पाकिस्तानको राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा इमरान खानको सरकारले मलिक रियाजको कम्पनी बहरिया टाउनको दायित्वबाट समायोजन गरेको आरोप छ ।

 

यस तथाकथित सम्झौताको बदलामा मलिक रियाजले कराचीको बाहिरी भागमा सयौं एकड जमिन अल-कादिर ट्रस्टलाई दान दिएका थिए, जसका ट्रस्टीहरू इमरान खान र उनकी पत्नी बुशरा बीबी हुन्। जसका कारण, यस लेनदेनमा भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप लगाइएको छ। 


राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले यस विषयमा अनुसन्धान गरिरहेको छ। यस अनुसन्धानका सम्बन्धमा अदालतमा निवेदन परेको छ, जसको सुनुवाई आज हुन लागेकाे हाे ।

 

प्रतिकृया दिनुहोस