• शुक्रबार-जेठ-३०-२०८२

मुख्यसचिव एकनारायण अर्याल कै निर्देशनको अवज्ञा ?

 

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले पटक पटक दिएको निर्देशन मन्त्रालयहरुले अवज्ञा गर्दै आएको जानकारी हुन आएको छ । उनले वाराम्वार दरवन्दी बिनाका निकायमा कर्मचारी नखटाउन र एक हप्ता भन्दा बढी समय बरण्डामा नराख्न निर्देशन दिएका थिए । तर, मुख्यसचिवको यस्तो निर्देशनहरुलाई घाममा सुकाउँदै विभिन्न मन्त्रालयले उल्लंघन गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरवन्दी नभएका कतिपय निकायमा आफू अनुकूलका कर्मचारी खटाएको गुनासो बाराम्वार बाहिर आइरहेका छन् ।


यसको उदाहरण स्थानीय निकायमा खटाइने कर्मचारी संख्याले पनि पुष्टि गर्दै आएको छ । कतिपय दूरदराजका स्थानीय निकायमा कर्मचारीको अभाव छ । जनप्रतिनिधिले कर्मचारी पठाउन संघीय मन्त्रालयमा अनुरोध गरेपनि सुनेको नसुने झै आलटाल गर्ने गरेको जानकार स्रोत बताउँछ ।

 

अझ आकर्षक, बजेट बढी भएका विभाग र कार्यालयहरुमा अनावश्यक रुपमा आफू अनुकूलका कर्मचारीलाई लेनदेनका आधारमा खटाउने प्रवृत्ति सामान्य प्रशासन मन्त्रालयमा मौलाएको गुनासो छ । कतिपय निकायमा ओभर दरवन्दी हुँदा कर्मचारीले जिम्मेवारी पाउन महिनौ कुर्नुपर्ने अवस्था रहेको बताइन्छ ।


यही कारण बरण्डामा राखेर पनि जनताले तिरेको करबाट उनीहरुलाई तलव उपलव्ध गराउनुपर्ने बाध्यात्मक स्थिति रहेको स्रोतको भनाई रहेको छ । हरेक संघीय मन्त्रालयमातहत निकायमा ओभर दरवन्दी कायम गरिएको छ ।

 

यो विषय मुख्यसचिव अर्याललाई अझ थाहा नहुने विषय रहेन । गृह मन्त्रालयमा ५–६ महिनादेखि सचिवहरु जिम्मेवारी नपाउँदा बरण्डामा हल्लिरहेका छन् । यो विषय मिडियाहरुमा दैनिकजसो बर्गेल्ती रुपमा प्रकाशन भइरहेका छन् ।


तरपनि आफूलाई कडा प्रशासक र सुशानका पहरेदार ठान्ने मुख्यसचिवको कानमा किन बतास लाग्न सकिरहेको छैन भन्ने प्रश्न सिंहदरवार परिसरमा उठ्ने गरेका छन् । प्रशासनविद्हरुले पनि यी विषयमा मुख्यसचिव अर्याल गंभीर नभएकोमा आश्चर्य व्यक्त गर्दै आएका छन् । (साँघु साप्ताहिक, २०८२ जेठ २६)

प्रतिकृया दिनुहोस