अहमदाबाद, ३० जेठ । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् ।
सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।
प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए । प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राहतको भाव देख्न सकिन्थ्यो ।
विश्वकुमार रमेशले भने, ‘मेरो आँखा अगाडि सबै भयो तर म कसरी बाँचेँ, मलाई नै थाहा छैन । केही समयको लागि म पनि मर्छु कि जस्तो लाग्यो तर जब मेरो आँखा खुल्यो, म जीवित थिए । मैले मेरो सिट बेल्ट हटाउन खोजे । यसपछि म त्यहाँबाट निस्किएँ । एयर होस्टेस र अन्य मानिसहरू मेरो आँखा अगाडि मरे । टेकअफ पछि ५–१० सेकेन्ड भित्र सबै कुरा भयो ।’
बोइङ ७८७ ड्रिम लाइनरमा २४२ यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त यात्रु विश्वकुमार रमेश आफ्नो भाइसँग लण्डन जाँदै थिए । अहमदाबाद सिभिल अस्पतालको ट्रमा वार्डमा कार्यरत डा. शारिक एमले रमेशलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताए ।
बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसकाे हाेस्टेल माथि दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको आशंका गरिएको छ ।
अहमदाबाद एयरपोर्टमा अवतरण गरे लगत्तै प्रधानमन्त्री मोदी मेघानीनगर घटनास्थल पुगेका थिए । जब विमान यहाँ खस्यो, त्यसपछिको अवस्था के थियो भनेर उनले थाहा पाए । यस क्रममा प्रधानमन्त्री मोदी निकै गम्भीर र दुःखी देखिन्थे । प्रधानमन्त्री मोदीले विमान खसेपछि आगो लागेको भवनसमेत हेरेका छन् ।
घटनास्थल पुगेपछि प्रधानमन्त्री मोदीले अवस्थाको जानकारी लिएका थिए । यसपछि प्रधानमन्त्री मोदीले पनि अस्पताल गएर घाइतेहरुलाई भेट्नसमेत लागेका छन् । मोदीले दुर्घटनाको समीक्षा बैठक पनि गर्नेछन्। यस अवधिमा उनले दुर्घटनादेखि अहिलेसम्मको हरेक अपडेट लिनेछन् ।
बोइङ ७८७ ड्रिमलाइनर (एआई १७१) सहरको सिभिल अस्पताल र बीजे मेडिकल कलेज क्याम्पस, सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको घण्टौं बितिसक्दा पनि मृत्यु हुनेको संख्याबारे आधिकारिक जानकारी आएको छैन ।
विमानमा दुई पाइलट र १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए । एयर इन्डियाका अनुसार विमानमा सवार २३० यात्रुमध्ये १६९ भारतीय, ५३ बेलायती, एक क्यानडाली र सात पोर्चुगिज नागरिक थिए ।
प्रतिकृया दिनुहोस