काठमाडौँ, २ असारः चलचित्रको माध्यमबाट मुलुकको संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक २०८२ असार १ गते शनिबार आयोजित ‘सिनेमा संवाद’ कार्यक्रमका वक्ताले चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रवर्द्धनमा जोड दिएका हुन् ।
चलचित्र पत्रकार सङ्घ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न शीर्षकमा संवाद गरिएको थियो । सो कार्यक्रममा चलचित्रका कथावस्तु र छायाङ्कनका लागि सुदुरपश्चिम प्रदेश ‘भर्जिन’ क्षेत्र भएकोले यहाँका कला संस्कृतिलाई समेटेर चलचित्र निर्माण हुनुपर्नेमा वक्ताहरुले जोड दिए ।
कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, स्थानीय पर्यटन, बजारका चुनौती र सिनेमा–समाजको सम्बन्धबारे छलफल गरियो । सो कार्यक्रमको उद्घाटन गर्दै जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले सिनेमा संवाद कार्यक्रम गाउँ केन्द्रित बनाउनुपर्ने बताउनुभयो । काठमाडौँले दूर देख्ने सुदूरपश्चिम प्रदेशमा थालनी गरिएको यस प्रकारको कार्यक्रमलाई शहर केन्द्रित नबनाएर यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलमा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव वैकुण्ठराज पराजुलीले सिनेमा पनि पर्यटन प्रवर्द्धनको सशक्त माध्यम रहेकाले सुदूरपश्चिमलाई नेपाली सिनेमा छायाङ्कनको हब बनाउन प्रदेश र स्थानीय सरकारबाट पहलकदमीको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमको पहिलो सत्रमा ‘नेपाली सिनेमामा नवीन पुस्ता र नवीन दृष्टिकोण’ विषयक छलफल गरिएको थियो । कार्यक्रममा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामी वक्ताका रूपमा थिए । पछिल्लो समय नेपाली चलचित्रमा आइरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिँदो प्रविधिले पारिरहेको प्रभाव बारे संवाद गरिएको थियो ।
दोस्रो सत्रमा ‘सिनेमामा सुदुरपश्चिम इतिहास र संस्कृति’ विषयको संवाद भएको थियो । सुदुरपश्चिम क्षेत्रको कला संस्कृतिका जानकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले सो सत्रमा छलफल गरे । चलचित्र निर्देशक नेपालले सुदुरपश्चिमको मौलिक विषयमा सोही ठाउँका रमणीय स्थलमा छायाङ्कन गर्ने गरी नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभयो ।
तेस्रो सत्रमा ‘डोटेली भाषा सिनेमा र सङ्गीत’ विषयमा छलफल गरिएको थियो । गीतकार हर्क साउद, वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी र पत्रकार उमिद वागचन वक्ताको रूपमा थिए । बहसमा चलचित्रमा प्रयोग भइरहेका देउडा गीत सङ्गीत र त्यसको मौलिकताको विषयमा छलफल गरिएको थियो ।
चौथो सत्रका रूपमा ‘सुदुरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमाको भूमिका’ विषयमा कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र गौरीका निर्माता खड्गबहादुर मल्ल र थारु चलचित्रका अभिनेता प्रेम चौधरीले छलफल गरे । चलचित्रले सुदुरपश्चिमको पर्यटन प्रवर्द्धनमा पु¥याउन सक्ने योगदान र नेपाली सिनेमामा समेट्न सकिने पर्यटकीय स्थलको विषयमा बहस गरिएको थियो ।
सुदूरपश्चिमको परिचय बोकेका दोधारा चांदनी, अपि हिमाल, साइपाल हिमाल, खप्तडलगायतलाई सिनेमामा समेट्दा त्यसले स्थानीय पर्यटन प्रवर्द्धनमा पार्नसक्ने प्रभावका बारेमा छलफल गरियो । चलचित्र पत्रकार सङ्घ नेपाल कैलालीका अध्यक्ष पुष्पराज जोशी र जेडी एसोसिएट्सका प्रमुख दिनेश भण्डारीले सिनेमा संवादले स्थानीय कला संस्कृतिको पहिचान वृद्धि र पर्यटन प्रवर्द्धनमा सघाउ पु-याउने अपेक्षा गरिएको बताउनुभयो । (तस्बिर : अछामको रामारोशन गाउँपालिका-२ स्थित चाफामाडौँ गाउँको चिटिक्क ढुङ्गा खरको छानो भएको परापूर्वक घरहरु । तस्बिरः सुशील भण्डारी/रासस)
प्रतिकृया दिनुहोस