काठमाडौं, असार ३ गते। नागरिक कल्याण समाज नेपालले भक्तपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा असार २ गते सोमबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहान ८ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा ३२ जना स्वयंसेवी रक्तदाताहरूले आफ्नो अमूल्य रगत दान गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पशुपति दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामा सहभागी थिए भने समाजसेवी ओम रोका मगर विशेष अतिथिको रूपमा सहभागी भए।
कार्यक्रममा समाजसेवी तथा व्यवसायी पूर्णकुमार गुभाजु, रोशन रत्न शाक्य, ङिमा छिरिङ बुढा, छिरिङ फिन्जो गुरुङ, शुमन लामा, प्रेमबहादुर पाण्डे लगायत सल्लाहकारहरूको पनि उपस्थिति रहेको थियो।
संस्थाका सचिव अजय लामाले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमका विशेष अतिथि ओम रोका मगरले सम्पूर्ण आन्तरिक खर्च वहन गरेका थिए भने बिहानको खानाको व्यवस्था समाजसेवी पूर्णकुमार गुभाजुले गरेका थिए। टेन्ट, टेबुल र कुर्सी माकल वारि क्याटरिङले उपलब्ध गराएको थियो भने फलफूलको व्यवस्था बौद्ध निवासी समाजसेवी माँ बगलाले गरेकी थिइन्।
कार्यक्रममा रक्तदान गर्ने ३२ जनालाई प्रमाणपत्र र कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। संकलन भएको ३२ पिन्ट रगत भक्तपुर रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको छ।
रक्तदान एक पवित्र कार्य हो जसले एक जनाको ज्यान बचाउन सक्छ। नेपालमा अझै पनि नियमित रक्तदाताको संख्या कम रहेको अवस्थामा यस्ता अभियानहरूले समाजमा चेतना अभिवृद्धि गर्ने विश्वास लिइन्छ।
कार्यक्रममा भिजन न्युज नेपाल र हेल्थ पार्टी मिडिया पार्टनरका रूपमा सहभागी थिए। नागरिक कल्याण समाज नेपालका अध्यक्ष पशुपति दाहालले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, रक्तदाताहरू, प्राविधिक सहयोगी र सञ्चारकर्मीप्रति आभार प्रकट गरेका थिए।
प्रतिकृया दिनुहोस