काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमातहतको भूमि व्यवस्था तथा अभिलेख विभागले अवधि नपुग्दै कर्मचारीहरुको सरुवा गरेर ‘थैली खेती’को गाइजात्रा देखाएको गुनासो कर्मचारीहरुले गरेका छन् । विभागका महानिर्देशक सहसचिव शिव रेग्मीको सिधापनको फाइदा प्रशासन शाखाका उपसचिव टेकराज अर्यालले उठाउँदै राम्रैसँग थैली खेती गरेर आफू निकट र अवधि नपुग्दै खरिदार, नासु र अधिकृतहरूको सरूवा गरेको पीडित कर्मचारीहरुले बताएका छन् । विभागले कतिपय जिल्लाका विभिन्न मालपोत कार्यालयमा कर्मचारीको सरूवा गर्न भनी लामै लिष्ट तयार पारेको बुझिएको छ ।
यसअघि पनि विभागले अवधि नपुग्दै आफू अनुकूल २५/३० जनाको कर्मचारी अन्तर निकाय सरुवा गरिसकेको स्रोत बताउँछ । आकर्षक मालमोत कार्यालयहरुमा सरुवाका लागि भन्दै कतिपय खरिदारसँग १ लाख, नासुसँग दुई लाख र शाखा अधिकृतसँग तीन लाखसम्म असुल गरेर सरूवाको गर्दै आएको मालपोत स्रोतले दावी गरेको छ । उपसचिव अर्याल रन्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था मन्त्री हुँदा मन्त्रालयको प्रशासन शाखामा रहेर काम गरेका थिए ।
०८१ असार ३१ गते नेकपा एमालेका सांसद एवम् नेता बलराम अधिकारीले सो मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गरेपछि जिल्लाबासी उपसचिव अर्याललाई विभागमा सरूवा गरी प्रशासन शाखाको जिम्मेवारी दिएको बताइन्छ । तर, उनले मन्त्री अधिकारी, सचिव केदारनाथ शर्मा र महानिर्देशक रेग्मीको निर्देशनविपरित आफू अनुकूलका कर्मचारीलाई पायक पर्ने र जग्गा प्रशासन सम्वन्धी बढी कारोवार हुने जिल्लाम सरूवा गरेर अतिरिक्त लाभ हासिल गरेको गुनासोहरु आइरहेका छन् ।
पाल्पा निवासी महानिर्देशक रेग्मीको सोझो र इमान्दारीको फाइदा विभागमा कार्यरत केही उपसचिव र अधिकृतहरुले उठाइरहेको चर्चा छ । विभागमा कार्यरत उपसचिव अर्याललगायतको टिमले सेटिङ मिलेकालाई भनेकै कार्यालय, आकर्षक र मालदार जिल्लामा सरुवा गरेर मनग्ये फाइदा उठाइरहेको गुनासो मन्त्रालयको नेतृत्वसमक्ष पुगेको स्रोतले दावी गरेको छ । यो समूहले लेनदेन नमिलेका कर्मचारीहरूलाई भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतिर सरुवा गरेर दुःख दिन गरेको पीडितहरूले दुखेसो गरेका छन् । (साँघु साप्ताहिक, २०८२ असार २)
प्रतिकृया दिनुहोस