काठमाडौं । ०८२ जेठ २४ गतेबाट महालेखा नियन्त्रक कार्यालय नेतृत्वविहीन रहेको छ । तत्कालीन प्रमुख एवम् सचिव रघुराम विष्ट ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएसँगै कार्यालयले आजका दिनसम्म नेतृत्व पाउन सकेको छैन । सरकारले कार्यालयमा सचिव खटाउन आलटाल गरिरहेको अवस्था छ । आर्थिक वर्ष सकिने आखिरी समयमा लेखाका कर्मचारीहरुलाई रिक्त रहेका कार्यालय, आयोजना, विभाग, निकाय र मन्त्रालयमा सरूवा र पदस्थापना गर्ने नियन्त्रक पद रिक्त रहनु प्रशासनिक हिसावले उचित मानिदैन ।
तर, सरकारले यो संवेदनशीलतालाई बुझेर पनि अनदेखा गरेको गुनासो कार्यालय मातहत कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । हाल, सहसचिव यमुना प्रधानले निमित्त महालेखा नियन्त्रकको जिम्मेवारीमा रहेर दैनिक प्रशासनिक गाँठो फुकाउँदै आएकी छिन । उनले चाहेको खण्डमा सहायक लेखापाल, लेखापाल र लेखा अधिकृत मात्र सरूवा गर्न सक्छिन् । लेखा नियन्त्रक अर्थात उपसचिवस्तरका कर्मचारीहरु सरूवा गर्न भने सचिवकै निर्णय आवश्यक पर्नेछ ।
अवकाश हुन लागेका सचिव विष्टलाई गण्डकी प्रदेशको प्रमुख सचिवबाट तानेर सरकारले २०८२ जेठमा जम्माजम्मी दुई साताको लागि महालेखा नियन्त्रकको जिम्मेवारी दिएको थियो । तर, उनले सो पदमा रहँदा बुझ्दा नबुझ्दै अनिवार्य अवकासमा गएका थिए ।
सरकारले पुन ५८ वर्षे उमेर हदका कारण साढे २ महिनापछि अनिवार्य अवकासमा जान लागेका सचिवलाई खटाउने मनसाय राखेको पाइएको छ । शिक्षा सेवाबाट गतसाता मात्रै सचिव बढुवा भएका डा. खगेन्द्रप्रसाद सुवेदीलाई महालेखा नियन्त्रकमा खटाउन लागेको चर्चा पनि छ ।
सचिवमा बढुवा हुने वित्तिकै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ । सचिव बढुवापछि प्रदेश सरकारको प्रमुख सचिवमा खटाउने परम्परा रहेको छ । सोविपरीत उनलाई भने प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको बताइन्छ । यसको मूल कारण उनको सेवा कम अवधिको रहनु मानिन्छ । त्यसकारण पनि उनी महालेखा नियन्त्रक कार्यालयमा सरुवा हुने प्रयासमा रहेको स्रोत बताउँछ । उनलाई तत्काल प्रदेशमा खटाउने मनस्थितिमा सरकार पनि नरहेको चर्चा छ ।
यता, महालेखा नियन्त्रकको कार्यालयमा बाजी मार्नका लागि आधा दर्जन भन्दा बढी सचिवहरुले चाहना राख्दै आएको चर्चा छ । हाल, लुम्बिनी प्रदेशका प्रमुख सचिव रहेका बाबुराम अधिकारी, गण्डकीका शोभाकान्त पौडेल र कोशी प्रदेशकी चन्द्रकला पौडेलले जोडबल गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दावी गरेको छ ।
यस्त,ै मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले पनि उक्त कार्यालयमा सरुवा हुनका लागि मनसाय देखाएको बुझिएको छ । हुन त संघमा भित्रिनका लागि यतिखेर सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रहेका कमलप्रसाद पोखरेलले पनि जोडबल लगाइरहेको चर्चा छ । तर, पोखरेलको पहुँच र राजनीतिक लबिङ कमजोर रहेको बताइन्छ । त्यसैले हाल प्रदेशमा प्रमुख सचिव रहेका अधिकारी, भुजेल, चन्द्रकला र शोभाकान्तमध्ये एकजना भित्रिने सम्भावना रहेको स्रोतको दावी छ । (साँघु साप्ताहिक, २०८२ असार ९)
प्रतिकृया दिनुहोस