• मंगलबार-असार-१०-२०८२

नेपालमा ११.६ प्रतिशत मात्रै बेरोजगार, अझै घटाउन सरकार प्रयत्नशिल छ: श्रम मन्त्री

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन । मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यून्तम मानवअधिकार सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताएका हुन । 

 


`गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने नेपाली श्रमिकलाई विकासको सारथीको रुपमा सम्मानको रुपमा हेरिनु पर्दछ – हेर्ने बृहत दृष्टिकोणमा परिमार्जन हुनु पर्दछ,` उनले भने । मन्त्री भण्डारीले नेपाली श्रमिक विदेशी भूमिमा रहदाको अवस्थामा श्रमिकको बीमा चौविसै घण्टा कायम गराउन मन्त्तालयले थप पहलकदमी लिएको जानकारी गराए । 

 


श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको बहुआयामिक विषय हो । हाल मुलुकमा कूल जनसंख्याको करिब  ११.६ प्रतिशत जनसंख्या बेरोजगार रहेको उनले बताए ।

 

 
जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको जिकिर गर्दै नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरु संलग्न रहेको अवस्था चिन्ताको बिषय भएको उनले बताए । 

 

‘रोजगारी सृजना गर्ने अभियानलाई नयाँ र प्रभावकारी तवरले कार्य गर्न आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गर्न लागिएको छ’ उनले भने,  ‘समृद्ध नेपाल सुखी नेपाली र दीगो विकासको लक्ष्य प्राप्ति तथा मुलुकलाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न समेत यो अभियान महत्वपूर्ण र सान्दर्भिक छ।’

 


मन्त्री भण्डारीले सीप र दक्षता कमीका कारनण कुनै पनि नेपाली नेपालको रोजगारीमा संलग्न हुनबाट वञ्चित नहोस भनेरे सीप विकासलाई उच्च महत्व दिएको जानकारी गराए । मुलुकको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालको रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील रहेको उनको भनाइ छ । 

 


उनले मन्त्रालय मातहत रहेको राष्ट्रिय व्यावसायीक प्रशिक्षण प्रतिष्ठानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरी सीपयुक्त नेपाली उत्पादनका लागि आगामी वर्षको बजेट तथा कार्यक्रमले ल्याएको जानकारी गराए । नेपालको बेरोजगारीको समस्या न्यूनिकरण गर्न श्रम बजारको माग अनुरुपको सीप तथा दक्षता विकास गर्न आवश्यक छ । दक्ष श्रमिक उत्पादन गरी रोजगारीमा पदस्थापना गर्ने कार्यको लागि प्रतिष्ठानले विभिन्न १२ वटा रोजगारदाता र तालिम प्रदायक निकायसंग समझदारी पत्रमा गरी सकेको छ ।

 

श्रम बजारको आवश्यकता र तालिमका विषयबस्तुको वीचको खाडल कम गर्दै आगामी आर्थिक वर्षमा मागमा आधारित तालिम सञ्चालन गर्ने गरी आगामी वर्षको कार्यक्रम तर्जूमा गरिएको छ, उनले बताए । 

प्रतिकृया दिनुहोस