कैलाली, १६ असार : सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ ।
आफ्नै घर अगाडि काम गर्दैगर्दा उहाँको दाहिने खुट्टामा सर्पले टोकेपछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
सर्पले खुट्टामा टोकी घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा बुढाको मृत्यु भएको जोशीले बताउनुभयो ।
त्यसैगरी, धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई धनगढी उपमहानगरपालिका–१९ ललितपुरका एकजना आज घाइते भएका छन् । घाइते हुनेमा धनगढीको लल्लिपुर बस्ने गुलियादेवी चौधरी रहेको सूचना अधिकारी जोशीले बताउनुभयो ।
चौधरी घरदेखि १०० मिटर टाढा खेतमा धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई उहाँको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।
---
प्रतिकृया दिनुहोस