• मंगलबार-असार-१७-२०८२

रुपन्देहीमा भन्सार छलेर ल्याएकाे तस्करीकाे सामान सात स्थानबाट १३ लाख बराबरको फेला  

 

भैरहवा, असार १६ । जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको चेकजाँचका क्रममा प्रहरीको संयुक्त टोलीले करिब १३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका ईलाका र चौकीहरूबाट खटिएको प्रहरी टोलीले असार १५ र १६ गते सञ्चालन गरेको अभियानमा १३ लाख १५ हजार ५१५ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिई आज (असार १६ गते) भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको हो।

नियन्त्रणमा लिइएका अवैध सामग्री र व्यक्ति विवरण यसप्रकार छन् :


१. सिद्धार्थनगर, मायादेवी र रोहिणी क्षेत्रबाटः


जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर–३ मेउडिहवा, मायादेवी–६ गुलरिया र रोहिणी–३ धकधईस्थित स्थानबाट UP 56 E 2408 नं. को मोटरसाइकल, १९ जोर जुत्ता, १२६ थान हुक्का सेट, विभिन्न किराना सामानसहित रु. २,३३,५६५ बराबरको सामग्री बरामद गरेको छ। साथै भारत, महाराजगञ्ज फरेनियाका ३५ वर्षीय दुर्गेश यादव र २२ वर्षीय हरिओम यादव पनि नियन्त्रणमा लिइएका छन्।

२. मायादेवी–५ शिबपुरबाटः


ईलाका प्रहरी कार्यालय मझगाँवाको टोलीले लु ४ प १८७ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको विभिन्न प्रकारका STASH-PRO, BONGCHIE, GO CONE लगायतका उच्च ब्राण्डका रोलिङ पेपर, रोच बुक र अन्य समाग्रीहरू बरामद गरेको छ। यसरी बरामद भएको सामग्रीको मूल्य रु. ४,७२,८५० बराबर रहेको बताइएको छ। सामान ल्याउने व्यक्ति सियारी–६ रामगञ्जका २६ वर्षीय राजु लोध रहेको खुलेको छ।

३. सियारी–७ कनरीबाटः


ईलाका प्रहरी कार्यालय छपियाले लु २ प ५४८७ नम्बरको मोटरसाइकलसहित १०० किलो चिनी र ३० किलो केराउ बरामद गरेको छ, जसको अनुमानित मूल्य रु. ३६,००० रहेको छ।

४. रोहिणी–७ टिकरबाटः


ईलाका प्रहरी कार्यालय धकधईले अवधेश अहिरले चलाएको लु १७ प ६२७ नम्बरको मोटरसाइकलसहित ६ पेटी (१२ पिस) टायल बरामद गरेको छ, जसको मूल्य रु. ८४,००० बराबर छ।

५. रोहिणी–७ टिकरबाटैः


प्रहरी चौकी मैनिहवाले १४४० लिटर ब्लाउज थान कपडा, ५२० मिटर लेडिज कुर्ता कपडा, र ७० पिस साडी बरामद गरेको छ, जसको मूल्य रु. २,९८,१०० रहेको छ।

६. लुम्बिनी सांस्कृतिक नगरपालिका–१ आमापुलबाटः
प्रहरी चौकी कालिदहले UP 55 Y 0210 र UP 55 H 0090 नम्बरका मोटरसाइकलमार्फत ल्याइएको ५ बोरा युरिया मल र १ क्विन्टल प्याजसहित रु. १,०३,००० बराबरको सामग्री नियन्त्रणमा लिएको छ।

७. महिलवार क्षेत्रबाटः
अस्थायी प्रहरी विट महिलवारबाट खटिएको टोलीले UP 58 J 6314 नम्बरको मोटरसाइकलसहित ४ बोरा मलखाद बरामद गरेको छ। नियन्त्रणमा लिइएको समाग्रीको मूल्य रु. ८८,००० रहेको बताइएको छ।

कानूनी कारवाही अघि बढाइँदै
सबै नियन्त्रणमा लिइएका समाग्रीहरू सम्बन्धित व्यक्तिसहित आजै भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा बुझाइएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीले भारतसँग सटीएका सीमावर्ती क्षेत्रहरूमा अवैध व्यापार नियन्त्रण गर्न चेकजाँचलाई थप कडा बनाउने जनाएको छ।

प्रतिकृया दिनुहोस