• बुधबार-असार-२५-२०८२

उद्धार र राहत सामग्री वितरणमा विलम्ब नगर्न सरकारलाई ध्यानाकर्षण

 

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले रसुवामा आएको बाढी र त्यसले निम्त्याएको मानवीय र भौतिक क्षतिको दुःख व्यक्त गर्दै उद्धार तथा राहत सामग्री वितरणमा विलम्ब नगर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । आकस्मिक समयमा बोल्दै उहाँहरुले विपद् जोखिम न्यूनीकरणमा सरकार पर्याप्त तयारीका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । 

 

सांसदहरु विश्वप्रकाश शर्मा, देवेन्द्र पौडेल, अर्जुननरसिंह केसी, ईश्वरबहादुर रिजाल, विमला सुवेदी, प्रकाशशरण महत, सीता मिजार र डा अमरेशकुमार सिंहले रसुवामा आएको भीषण बाढीमा परेकाहरुको उद्धारमा ढिलाइ नगर्न आग्रह गर्नुभएको हो ।

 

त्यसैगरी, सांसदद्वय देवेन्द्र पौडेल र श्यामकुमार घिमिरेले उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकहरुले देशभरि आकस्मिकबाहेकका सेवा ठप्प पार्दा सर्वसाधारण मार्कामा परेकाले यथाशीघ्र सम्बन्धित निकायसँग वार्ता गरी निकास निकाल्नुपर्ने बताउनुभयो ।

 

सांसदहरु प्रभु हजारा, प्रभु साह र दिनेशकुमार यादवले मधेशमा खानेपानीको समस्याबारे सदनमा ध्यानाकर्षण गराउनुभयो । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको हाहाकार रहेकाले खानेपानी उपलब्ध गराउन उहाँहरुले माग गर्नुभयो । यसैगरी, सांसद दिनेशकुमार यादवले सप्तरीमा खानेपानीको हाहाकारसँगै मल र खादको अभाव रहेकाले समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

 

सांसद हरिप्रसाद उप्रेतीले उखु किसानहरुले अनुदान नपाउँदा उद्योगहरु बन्द हुने स्थितिमा पुगेकाले किसानले बेचेको उखुको पैसा र अनुदान पाउनुपर्ने बताउनुभयो । सांसदहरु धनबहादुर बुढा, कान्तिका सेजुवाल र सम्झना थपलियाले विभिन्न समसामयिक विषयमा आफ्ना मागबारे संसद्मा ध्यानाकर्षण गराउनुभयो ।

प्रतिकृया दिनुहोस