• सोमबार-असार-३०-२०८२

पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन : अध्यक्ष ओली

 

झापा : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने बताउनुभएको छ ।

 

एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टीमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभ लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः  राष्ट्रिय शक्ति बनाएको बताउनुभयो । 

 

आफूबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो । “एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो”, उहाँले भन्नुभयो, “एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन । हाम्राविरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी  सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने पार्टीजस्ता हुँदै होइनौँ ।” 

 

अध्यक्ष ओलीले एमालेले नसके अरु कसैले पनि देश बनाउन नसक्ने भन्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौँ  विकास र समृद्धिका काम थालनी भएकामा त्यसको प्रतिफल आउन थालेको बताउनुभयो । हाल नेपालको अन्तरराष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको टिप्पणी गर्नुभयो । 

 

त्यस अवसरमा अध्यक्ष ओलीले सयौँ युवालाई पार्टी प्रवेश गराउनुभएको थियोे ।

प्रतिकृया दिनुहोस