• शनिबार-श्रावण-१०-२०८२

मिर्गाैला रोगीले बर्षाको समयमा यी चिज नखाऔं

 

मनसुनको समयमा चिसो बढ्दै जाँदा केही फरक खाने मन लाग्छ । तर यस समयमा गलत खानपान बानीका कारण हामी विरामी पर्न सक्छौं । विशेषगरी मिर्गौला रोगीहरूले विशेष सावधानी अपनाउन आवश्यक छ । वर्षायाम सबैका लागि अलि जोखिमपूर्ण हुन्छ । वर्षामा आर्द्रता बढ्दै जाँदा ब्याक्टेरियाको वृद्धि पनि बढ्छ, जसले गर्दा संक्रमण र खाद्य विषाक्तता सामान्य समस्या बन्छ । मनसुनको समयमा पाचन प्रणाली कमजोर भयो भने मिर्गौलामा बढी दबाब पर्न सक्छ । यो अवस्था मिर्गौला रोगीहरूको लागि हानिकारक हुन सक्छ । पोटासियम, फस्फोरस र सोडियम बढी भएको खानेकुरा खानबाट बच्नुपर्छ ।


तारिएका खानपान : मनसुनको समयमा तातो र तारिएका पकौडा वा समोसा चिजहरु खानबाट सचेत हुनुपर्दछ । तारेको खानेकुरा खाँदा पाचन प्रणाली बिग्रिन्छ, जसले गर्दा मिर्गौलामा दबाब बढ्छ । यस्ता चिजहरुमा ट्रान्स फ्याटको मात्रा पनि उच्च हुन्छ, जसले रक्तचाप बढाउन सक्छ र तौल बढ्ने समस्या पनि निम्त्याउन सक्छ ।


काँचो सलाद र हरियो तरकारी : मनसुनको समयमा काँचो सलाद र हरियो तरकारी विशेष सफा गरेर मात्र खानुपर्दछ । यसमा कीराहरू छिटो बढ्छन् । मिर्गौलाका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा उनीहरू सजिलै संक्रमणको शिकार हुन्छन् र खाना विषाक्तताको जोखिम पनि बढ्छ । ताजा तरकारी खाँदा तिनीहरूलाई राम्ररी धोएर, पकाएर सेवन गर्नुपर्दछ । 


धेरै पानी : शरीरका लागि पानी महत्वपूर्ण हुन्छ । तर मिर्गाैलाको समस्या भएका व्यक्तिहरुले चिकित्सकको सल्लाहमा मात्र पानीको मात्रा तय गर्नुपर्छ । आवश्यकताभन्दा बढी पानी पिउनु हुँदैन । यो तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । 


बेकरी चिजहरू : केक, पेस्ट्री, बिस्कुट आदिजस्ता बेकरी वस्तुहरू खानु अनुपयुक्त हुन्छ । यी सबै चिजहरुले मिर्गौलाको फिल्टर गर्ने क्षमतालाई असर गर्न सक्छ । यसले मेटाबोलिक तनाव पनि बढाउन सक्छ । बेकरीका खानपानमा चिनी, ट्रान्सफ्याट र प्रशोधित मैदाको मात्रा धेरै हुन्छ । त्यसैले विशेषगरी मनसुनको मौसममा जब शरीर रोग र संक्रमणको जोखिममा हुन्छ, तिनीहरूबाट बच्नुपर्छ ।


दुध र दुग्धजन्य पदार्थहरू : वर्षायाममा दुध, चीज र दही जस्ता दुग्धजन्य पदार्थहरू चाँडै बिग्रिन्छन् र तिनीहरूबाट संक्रमणको जोखिम बढी हुन्छ । साथै, तिनीहरू फस्फोरसले भरिपूर्ण हुन्छन् जुन मिर्गौलाको लागि खतरनाक हुन सक्छ, त्यसैले मिर्गौलाका बिरामीहरूले यसको सेवन गर्नबाट जोगिनु पर्छ ।


धेरै नून भएको खाना नखानुहोस् : नूनमा पाइने सोडियमले मिर्गौलामा दबाब दिन्छ, विशेषगरी मनसुनको समयमा जब शरीरमा पसिना कम आउँछ । यसले उच्च रक्तचाप पनि निम्त्याउन सक्छ । 


पोटासियम बढी भएका फलफूल : मिर्गौला रोगीहरूले पोटासियमको सेवन सीमित गर्नुपर्छ । मनसुनमा केरा, सुन्तला, आँप, मेवा जस्ता फलफूलमा पोटासियम प्रशस्त मात्रामा हुन्छ र यसको अत्यधिक सेवन खतरनाक हुन सक्छ । यस्ता विरामीहरूको मिर्गौलाले पोटासियम राम्ररी हटाउन सक्दैन । यसले रगतमा पोटासियमको स्तर बढाउँछ (हाइपरकेलेमिया), जसले गर्दा मुटुको धड्कन अनियमित हुन सक्छ । (साँघु साप्ताहिक, २०८२ साउन ५)
 

प्रतिकृया दिनुहोस