• शनिबार-श्रावण-१०-२०८२

बाढीले फोक्सिङटार पुल बगाएपछि सामान ढुवानी घिर्नीबाट

 

खोटाङ, ९ साउन । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ । 

 

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्षको असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो । 

 

फोक्सिङटारमा गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो । 

 

विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले जानकारी दिनुभयो । “रसुवा–पाँचधारे सडकअन्तर्गत रसुवा–सिम्पानी १५ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । जसका लागि सामान ढुवानी गर्न सुनकोशीमा घिर्नी जडान गरिएको हो”, उहाँले भन्नुभयो, “आवश्यक परेको खण्डमा दैनिक उपभोग्य सामान पनि तार्न सकिन्छ । फोक्सिङटारमा जडान गरिएको घिर्नी साउन ८ गते परीक्षण गरेर नियमित रूपमा सञ्चालन गरिरहेका छौँ ।”

 

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । सुनकोशीमा हिउँदमा मात्र अस्थायी बेलीब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रका लागि आवश्यक सामान ढुवानी गर्न कुनै विकल्प नभएपछि घिर्नी जडान गरिएको रेग्मीले बताउनुभएको छ ।

 

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दिक्तेल–गाईघाट (१०१ किलोमिटर) सडकखण्डअन्तर्गत फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पुल बगाएपछि गत पुस २७ गतेबाट अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको थियो ।

 

वर्षा लागेसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्ण रूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक खोटाङबाट पूर्वी तराईका विभिन्न सहर जाने तथा आउने छोटो दूरीको सडक हो । 

 

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि घुर्मी–कटारी सडकखण्ड हुँदै पूर्वी तराईका विभिन्न जिल्लामा सवारी साधन आवतजावत हुँदै आएको छ । घुर्मी–कटारी सडक लामो भएकाले विशेषगरी निर्माण सामग्रीका साथै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्नुपर्ने बाध्यता सृजना भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । 

 

निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको पुल फिनिसिङ (सम्पन्न गर्न) र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न करिब १२ वर्ष कुर्नुपरेको थियो । तर, बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो । 

 

फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि सङ्घीय सरकारबाट रु ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर, बाढी पुल बगाएको दश महिना बित्न लाग्दासमेत नयाँ पुल निर्माणका लागि अहिलेसम्म ठेक्का भने खुलेको छैन । 

 

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक अहिले हिउँद्को समयमा हिलाम्मे र वर्षाद्को समयमा धुलाम्मे अवस्थामा छ । विसं २०७३ मा कालोपत्र थालिएको दिक्तेल–गाईघाट सडक ठेकेदारको लापरबाहीले सम्पन्न नभएपछि ठेक्का तोडेर पुनः अर्को निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । 

 

फोक्सिङटारबाट सिम्पानीसम्म र सिम्पानीबाट महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले पुनः रु ८६ करोड बजेट उपलब्ध गराएको छ । पहिलो खण्डको सडक कालोपत्रको जिम्मा रु ४२ करोड लागतमा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छभने दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रु ४६ करोड लागतमा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको हो ।
---

 

प्रतिकृया दिनुहोस