‘एउटा झण्डा र राष्ट्रिय गान मात्रै स्वाधीनता वा स्वतन्त्रता होइन । स्वतन्त्रता भनेको हाम्रो आफ्नै सडक निर्माण हो, हाम्रा साधनहरुमाथिको हाम्रो नियन्त्रण हो, हाम्रो आफ्नो इतिहासको अध्ययन अध्यापन हो र हामी आफैले गर्ने हाम्रो भविश्यको रेखाङ्कन हो । हामीहरुसंग भएका श्रोत साधनहरु लामो समयसम्म अरुले आफू धनी हुनका निम्ति प्रयोग गरे, गर्दै आएका छन्–अब यस्तो अवस्थाको अन्त्य हुनुपर्छ ।’ अफ्रिकाको एउटा भूपरिवेष्ठित राष्ट्र बुर्किना फासोका राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरेले स्वतन्त्रताको निकै बस्तुपरक परिभाषा दिएका छन् ।
जम्मा ३७ बर्षका ट्राओरेले बुर्किना फासोको नेतृत्व सम्हाले यताका २÷३ बर्षको अवधिमा बुर्किना फासोले हासिल गरेको उपलब्धि अतुलनीय रहेको छ । उनले गरेको कामले गर्दा ट्राओरेलाई २१औं शताब्दीका, अफ्रिकाको मात्रै होइन, सिङ्गो संसारका एउटा सर्वाधिक प्रभावशाली नेता र व्यक्तित्वको रुपमा स्थापित गरेको छ ।
उनी नेतृत्वमा आएको समयमा बुर्किना फासोको साधन र श्रोतमा विदेशीहरुको नियन्त्रण थियो । सुनको भण्डारको रुपमा परिचित बुर्किना फासोका सुनखानीहरु विदेशीले संचालन गर्ने गर्दथे । बुर्किना फासोको विदेशी मुद्रा संचितिको आधा फ्रान्सको बैंकमा जम्मा गर्नुपर्दथ्यो । बुर्किना फासोमा फ््रयाङ्क र डलरमा कारोबार हुन्थ्यो । विदेशीहरुले बुर्किना फासोलाई आफ्नो स्वार्थ अनुसार हिंडाउनका निम्ति आफ्नो देशको बैंकमा जम्मा भएको बुर्किना फासोको रकम फ्रीज गरिदिने काम समेत गर्दथे ।
बुर्किना फासोले पश्चिमी राष्ट्रहरु र विश्व बैंक जस्ता संस्थाहरुबाट लिएको ऋणबाट पर्याप्त र गुणस्तरीय पूर्वाधारको विकास हुन सकेको थिएन । विद्यार्थीहरु घण्टौं पैदल हिंडेर विद्यालयमा जानु पर्दथ्यो । इब्राहिम ट्राओरे सत्तामा आएपछि फ्रान्सले आफ्नो देशमा रहेको बुर्किना फासोको ३२८ मिलियन डलर बुर्किना फासोसंग छलफल नै नगरीकन फ्रीज गरिदिएपछि ट्राओरेले आफ्ना देशको अर्थतन्त्रलाई विदेशी नियन्त्रणबाट स्वतन्त्र बनाउनको निम्ति निश्चित रणनीतिको अवलम्बन गरेर कार्यक्रमको कार्यान्वयन गरे ।
सर्वप्रथम उनले विदेशीको नियन्त्रणमा रहेका प्रमुख सुन खानीहरुको राष्ट्रियकरण गरे । ट्राओरेले अफ्रिकी राष्ट्रहरुको प्रादेशिक संगठनको निर्माण गर्न गरेको पहलबाट सहेल राष्ट्रहरुको आर्थिक संगठन सम्झौता भयो । बस्तु बिनिमयका आधारमा छिमेकी तीन राष्ट्रहरुसंगको ब्यापार संचालन गर्ने सहमति समेत ती राष्ट्रहरुको बिचमा भयो । कुनै एउटा राष्ट्रलाई लक्षित गरेर विदेशी वित्तीय दवाव पर्न नसक्ने अवस्था निर्माण गर्नका निम्ति प्रत्येक राष्ट्रले आफ्ना राष्ट्रको स्वामित्वमा रहेको सुनको निश्चित भाग वा अंश तीनवटै राष्ट्रमा संचय वा भण्डार गर्ने सहमति गरेर त्यसको कार्यान्वयन समेत गरे ।
पश्चिमी राष्ट्रहरुले म्यानिपुलेट गर्न सक्ने विदेशी मुद्राको सट्टामा वास्तविक सम्पत्तिका आधारमा आर्थिक कारोबार गर्न थाले र प्रत्येक राष्ट्रको कम्तीमा ६ महिनाको इमर्जेन्सी आवश्यकता पूरा गर्नको निम्ति सुनको संचय र ग्यारेण्टीका आधारमा आइएमएफबाट पूर्णरुपले स्वतन्त्र एउटा प्रादेशिक इमर्जेन्सी बैंकको स्थापना गर्ने निर्णय समेत ती राष्ट्रहरुले गरे । तीन मुलुकका प्रत्येक नागरिकले सुनको प्रत्येक संचिति (डिपोजिट), प्रत्येक व्यापारिक कारोबार वा लेनदेन र प्रत्येक खानीजन्य उत्पादन (माइनिङ्ग आउट्पुट) हेर्नसक्ने गरी एउटा सार्बजनिक ब्लकचेनको निर्माण गरेर प्रदर्शन वा कार्यान्वयन गर्ने जस्ता प्रयोगमूलक ( इन्नोभेटिभ) र रुपान्तरणकारी कार्यक्रमको कार्यान्वयन गर्न थाले ।
यसपछि कुनै पनि कारोवार प्राविधिक रुपले लुकाउन नसक्ने अवस्थाको निर्माण भयो र भ्रष्टाचार पनि निरुत्साहित हुन पुग्यो । प्रारम्भ भएको केही हप्तामै अफ्रिकाको इतिहासमा पहिलोपटक हज्जारौं मानिसहरुले “जनताको खाता’’ अर्थात “पिपुल्स लेजर’’को माध्यमबाट खानीजन्य उत्पादन, पूर्वाधारमा भएको लगानी र सरकारले आफूले गरेका वाचा के कति पूरा गरेको छ या छैन भन्नेकुराको विवरण हेर्न र थाहा पाउन थाले । मानिसहरुले आफ्नो देशबाट पहिले के कति बाहिर गैरहेको थियो र अब त्यो कसरी फर्केर उनीहरुकै हातमा आउँछ भनेर थाहा पाउन सक्ने अवस्थाको निर्माण भयो । फलतः वित्तीय नाकाबन्दीको कारणले तलब वा ज्याला नपाएका कामदारहरु सरकारको समर्थनमा सडकमा निस्कन थाले ।
शक्ति राष्ट्रहरु र सहेल राष्ट्रहरुको विवादको भाष्य(न्यारेटिभ) वित्तीय विवादबाट सांवभौमसत्ता वा आत्मसमर्पण (सब्जुगेसन)को बिचको ऐतिहासिक द्वन्द्व वा विवादमा रुपान्तरित भयो । ट्राओरेले अल्गारिथ्मिक डिभिडेण्ड सिस्टम लागू गरेर प्रत्येक नागरिकले सामाजिक कल्याणका नाममा होइन, राष्ट्रिय सम्पत्ति वा वेल्थमाथिको आफ्नो हकको अंशको रुपमा त्रैमासिक रुपमा भुक्तानी पाउने अवस्था समेत सुनिश्चित गरे ।
यसरी ट्राओरेले आफ्नो देशलाई विदेशी हस्तक्षेपको आघातबाट जोगाउने आधार तयार गरेका छन् र सार्वभौमसत्ताको संरक्षणको निम्ति एक्काइसौं शताब्दीको मार्गचित्र (अ ब्ल्युप्रिण्ट फर ट्वाण्टी फस्ट सेन्चुरी सोभरेइनिटी)को प्रतिपादन समेत गरेका छन् ।
अहिले विश्वभरका विश्वविद्यालयहरुमा बुर्किना फासो मोडेलको अध्ययन अध्यापन हुन थालेको छ र विकसित राष्ट्रहरुले समेत नागरिक लाभ वा डिभिडेण्ड कार्यक्रमहरुको कार्यान्वयन गर्न थालेका छन् । फ्रान्सले फ्रिज गरेको बुर्किना पासोको पैसा र खाता फेरि विना शर्त चालू गरेको छ । अमेरिका, रुस, चीन आइएमएफ सबैले बुर्किना फासोलाई सहयोग दिने प्रस्ताव गरेका छन् । आइएमएफ जस्ता संस्थाहरुले पनि नव उपनिवेशवादी शक्तिहरुको स्वार्थ विपरीत काम गर्न सक्दैनन् भन्ने ट्राओरेको कथन र ठम्याई रहेको देखिन्छ ।
सार्वभौमसत्ताको रक्षा र मुलुकको समृद्धिका विषयमा ट्राओरेको विचार र बडा महाराज पृथ्वी नारायण शाहले ढाई तीनसय बर्ष अघि व्यक्त गरेको विचारमा ठूलो सामीप्य समेत रहेको देखिन्छ । ट्राओरे पथ नेपालको निम्ति पनि उत्तिकै सान्दर्भिक लाग्छ । (साँघु साप्ताहिक, २०८२ साउन ५)
प्रतिकृया दिनुहोस