मलेखु (धादिङ), ८ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उहाँको भनाइ छ ।
नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
“अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ । कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ”, उहाँले भन्नुभयो, “बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।”
कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशाङ्क कोइरालालगायत केन्द्रीय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, पूर्वसभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै स्व नेता उप्रेतीका विगतका सङ्घर्ष सम्झदै प्रशंसा गर्नुभयो ।
विसं १९८५ मा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
–––
प्रतिकृया दिनुहोस