वीरगञ्ज (पर्सा), ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ ।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आज तराई–मधेसमा सुक्खाले समस्या बनाएको छ, यद्यपि बारामा आइपुग्दा धान रोपेका खेत देख्न पाउँदा खुसी लागेको छ ।” उहाँले दुई दिनअघि मात्रै सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले तराई–मधेसमा सिँचाइ र खानेपानीको प्रबन्धको लागि डिप बोरिङलगायत योजना अघि सारिएको पनि बताउनुभयो । “यहाँको सुक्खा समस्या समाधानका लागि सरकारले सक्रियता साथ काम गरिरहेको छन्, गृह मन्त्रालय र प्रशासनको तर्फबाट आवश्यक काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको दीर्घकालीन रुपमा चुरेको संरक्षण र सम्वर्द्धनका लागि ठूलठूला तालतलैयाहरुको निर्माण अबको आवश्यकता रहेको औँल्याउनुभयो ।
“यदि चुरेको संरक्षण गर्न सकिएन भने सुक्खाको समस्या अझ बढ्दै जान्छ, पानीको सतह झनै गहिरिँदै जानेछ”, उहाँले भन्नुभयो, “पानीको सतह नगहिरियोस् र सिँचाइको समस्या नहोस् भनेर नै हामीले सुनकोशी मरिण डाइभर्सन आयोजना अघि बढाएका थियौँ ।” यद्यपि उहाँले सुनकोशी मरिण डाइभर्सन आयोजनाले सुस्त गतिमा काम गरेकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सुनकोशी मरिण डाइभर्सन सम्पन्न भएपछि यहाँको देखिएको सिँचाइको समस्या धेरै हदसम्म समाधान हुने बताउनुभयो । “उक्त आयोजनाबाट मधेस प्रदेशका पाँच जिल्लामा १८५ हजार बिघा जमिन सिँचाइ गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “यहाँको उत्पादन दोब्बर मात्रै होइन् चारदेखि छ गुणासम्म वृद्धि गर्न सकिन्छ ।”
प्रधानमन्त्री ओलीले सुनकोशी–लाहान–सुनकोशी –कमला लगायतका सिँचाइ आयोजना अघि बढाउने गरी सरकारले तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।
---
प्रतिकृया दिनुहोस