• बुधबार-श्रावण-१४-२०८२

एमालेभित्र किन फैलिँदैछ भुसको आगो ? : ओलीविरुद्ध विद्याको काउन्टर रणनीति !

 

काठमाडौं । नेकपा एमालेको आन्तरिक राजनीतिमा विद्यादेवी भण्डारीका कारण निकै पेचिलो र रस्साकस्सीले केही महिना तानिने संकेत मिलेको छ । एमालेमा  केही बर्षदेखि भएको एक कोशीय संगठनमा दुई धार देखिने भएको छ । कुनै बेला एउटै धारमा रहेका नेताहरु नै दुुई धारमा विभाजित भएर कार्यकर्तामाझ जाने भएका छन् । अध्यक्ष केपी ओलीलाई काउन्टर गर्न विद्यादेवी भण्डारीको सक्रियताले एमालेका कार्यकर्ता भने विभाजित हुने निश्चित भएको छ । लुम्बिनी प्रदेशको युवा संघको अध्यक्ष सुरज खरेललाई कारबाही गरेर संस्थापन पक्षले कार्यकर्तामाथि दबाब बढाउन भने थालेको छ । त्यो दबाबले गर्दा अन्यलाई खुल्न भने समस्या हुने देखिएको छ । 


एमालेको सक्रिय राजनीतिमा फर्किन समस्या भएपछि भण्डारीले मदन भण्डारी फाउन्डेशनलाई उपयोग गर्ने नीति लिएकी छिन् । यही फोरमबाट जिल्लाजिल्लामा कार्यक्रम गर्ने भण्डारीको नीति रहेको छ । तर, भण्डारीको यो नीतिमा अध्यक्ष ओलीले पनि काउन्टर दिने देखिएको छ । फाउन्डेशनका जिल्ला र प्रदेश कमिटीलाई नै अध्यक्ष ओली पक्षले कब्जा गर्न थालेका छन् । गण्डकी प्रदेशको कमिटीलाई त्यसरी नै आफ्नो पक्षमा पारेका छन् । त्यसैले, अन्य जिल्ला र प्रदेश कमिटीलाई पनि अधिवेशनका क्रममा आफ्नो पक्षमा पार्ने नीति ओली पक्षले लिने देखिएको छ । त्यसो हुँदा भण्डारीलाई अर्को धक्का लाग्ने संभावना रहेको छ । 


एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अष्ट लक्ष्मी शाक्य, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली खुलेका छन् र उनीहरुले तलसम्म धारणाहरु लगिरहेका छन् । भण्डारीको पक्षमा खुल्ने भनेर पनि अन्तिममा धोका दिएको भन्दै उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको विषयमा पनि भण्डारी समूहमा चर्चाको विषय बनेकोछ । पौडेललाई पहिलो वरीयताको उपाध्यक्ष र गुरुङलाई महासचिव बनाउने ओलीको आश्वासनपछि परिस्थिति फेरिएको चर्चा छ । त्यसो त, भण्डारी समूहबाट  महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुने चर्चा पनि चलेको थियो ।

 

पौडेल र गुरुङ खुलेको भएमात्रै ओलीले भण्डारीको सदस्यता रोक्ने निर्णय केन्द्रीय कमिटीमा आइ नै नपुग्ने पनि नेताहरुको भनाइ छ । तर, लुम्बिनीबाटै प्रतिस्पर्धी पोखरेल र पौडेलले एउटै कुवाको पानी खाने सम्भावना अति नै कम रहेको छ । त्यसैगरी पृथ्वी सुब्बा गुरु¨ र खगराज अधिकारको गण्डकीको राजनीति पँधेरो बारबारको अवस्था रहेको छ । त्यसैले पौडेल र गुरु¨को मन्त्री पद २०८३ असारसम्म जोगिएमा असार पछि दुबै कमरेडले विद्यालाई साथ दिने विश्लेषण एमालेका बुद्धिजीवीहरुको रहेको छ ।   


भण्डारीको समूहमा रहेका नेताहरुले भने २०८२ भदो २० गतेदेखिको विधान महाधिवेशनको रुप र पार्टीको संस्थापन पक्षले कस्तो नीति लिन्छ, त्यसै अनुसार रणनीति बनाउने सोचमा रहेको बताइन्छ । तर, भण्डारी समूह एमालेभित्र भुसको आगोको रुपमा रहेको र  सक्रियतापूर्वक सदस्यहरुमा प्रभाव बनाउन सक्ने अवस्थामा भएको बताइन्छ । तर,  संस्थापन पक्ष भने यो कुरामा विश्वास गर्ने पक्षमा रहेको छैन । केही नेताहरुले भण्डारीलाई अदालतबाट सदस्यता नवीकरण गराउने निर्णयको अन्तरिम आदेश ल्याउन पनि उकासिरहेका छन् ।

 

तर, भण्डारी उक्त बाटोमा नजाने स्रोतको भनाइ छ । अब एमालेभित्र पोखरेल, पाण्डे, कर्ण थापा र विनोद ढकालमात्र होइन, काठमाडौंका दीपक निरौला, कृष्ण राई, सरिता न्यौपानेहरु सक्रिय हुनेछन् । त्यतिमात्र होइन, जनवर्गीय संगठनका नेताहरु पनि त्यो अभियानमा खुल्दै जानेछन् । स्रोतहरुका अनुसार, युवा संघ र अखिलका नेताहरु पनि सक्रिय अभियानमा जोडिनेछन् ।

 

सुमन पुरी, प्रकाश पौडेल, राजेश राईहरु अहिले नै एमालेकी पूर्व उपाध्यक्ष भण्डारी समूहको पक्षमा सक्रिय भइसकेका छन् । उनीहरुको प्रभाव भएको क्षेत्रमा भने पार्टीकै व्यानरमा कार्यक्रम आयोजना गर्ने र अन्यत्र मदन भण्डारी फाउन्डेशनको व्यानरमा कार्यक्रम गरेर विधान अधिवेशनसम्म सक्रियता बढाउन खोजिएको छ । स्रोतहरुको अनुसार, विधान अधिवेशन भने सार्ने पक्षमा अध्यक्ष ओली समूह देखिएको छ । २० भदौबाट सुरु हुने विधान अधिवेशनलाई अध्यक्ष ओलीको भारत भ्रमणको कारण देखाएर केही समय सार्ने संभावना रहेको पनि एमाले स्रोतको दावी छ । (साँघु साप्ताहिक, २०८२ साउन १२)

प्रतिकृया दिनुहोस