• बुधबार-श्रावण-१४-२०८२

साँघु सम्पादकीय : राष्ट्रिय विभूति भीमसेन थापाको स्मरण

 

२०८२ साउन ९ गते नेपालका प्रथम जनरल मुख्तियार तथा नेपाली सेनाका प्रथम कमाण्डर इन चिफ भीमसेन थापाको २५१औं जन्मजयन्तीका अवसरमा नेपाली सेनाको समन्वयमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन नेपालले एउटा विशेष श्रद्धाञ्जली सभाको आयोजना गरेको कुरा सार्वजनिक भएको छ । सो कार्यक्रममा नेपालको सैन्य इतिहासका संस्थापक मध्येका एक मानिने भीमसेन थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको राष्ट्रिय दृष्टिकोण, सैनिक नेतृत्व  र राष्ट्र निर्माणको क्षेत्रमा उनले दिएको अद्वितीय योगदानको स्मरण गरी उनीप्रति सम्मान प्रकट गर्ने काम भएको छ ।


 तात्कालीन प्रधानमन्त्री भीमसेन थापाको प्रधानमन्त्रीत्वकालमा  अंग्रेजहरुले नेपालमाथि पटक पटक आक्रमण गरेका थिए । अमरर्सिंह थापा, बलभद्र कुँवर र भक्तिथापालगायतका वीरहरुले अंग्रेजहरुसंगको युद्धमोर्चामा  अद्भूत पराक्रम, अदम्य साहस र अनुपम देशप्रेम र देशभक्तिको प्रदर्शन गरेका थिए । तर आधुनिक हातहतियारले सम्पन्न ठूलो  र शक्तिशाली अंग्रेजी सेनाले लामो तयारी समेत गरेर नेपालमाथि आक्रमण गरेको थियो । नेपाली पक्षले त्यसको निम्ति पर्याप्त तयारी गर्ने समय नपाएको अवस्था समेत देखिन्छ । युद्धका कतिपय मोर्चामा नेपाली पक्षले देखाएको अदम् साहस र बहादुरीको अंग्रेजहरुले समेत प्रशंसा गरेका छन् ।

 

तर, युद्धमा नेपालले विजय प्राप्त सक्ने संभावना नदेखिएको हुनाले नेपाली पक्षले अंग्रेजहरुसंग वार्ता गर्ने पहल गरेको थियो र वार्ताको क्रममा अंग्रेजहरुसंग सुगौली सन्धिमा हस्ताक्षर गर्न वाध्य  हुन पुगेको थियो । नेपाल सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य भएपछि भीमसेन थापाले आफ्नो पराजयको कारणको मूल्यांकन गरेर नेपाली सेनाको सुदृढीकरणको आवश्यकताको अनुभव गरेर त्यसमा ध्यान केन्द्रित गर्न थालेका थिए ।

 

पृथ्वीनारायण शाहलेजस्तै भीमसेन थापाले पनि अंग्रेजहरुको सामना गर्नको निम्ति अन्य राष्ट्रहरुसंग मिलेर प्रादेशिक संगठनको निर्माण गर्ने आवश्यकताको अनुभव गरेर त्यसको निम्ति समेत पहल गरेका थिए भन्नेकुरा इतिहासकारहरुले बताएका छन् । यसकुराले पनि भीमसेन थापा मुलुकप्रति निष्ठावान सच्चा देशभक्त  र दुरदर्शी नेता थिए भन्नेकुरा स्पष्ट गर्छ ।  आन्तरिक सत्तासंघर्षमा  पराजित भएपछि उनको दुःखद अन्त्य हुनगएको भए पनि सत्ता र शक्तिमा रहेको बेलामा उनले देशको स्वाधीनताको रक्षाको निम्ति खेलेको भूमिका र योगदानले गर्दा उनी नेपालका राष्ट्रिय  विभूतिको रुपमा अमर रहेका छन् ।


 भीमसेन थापाको इतिहासले हामीहरुलाई कठिन अवस्थामा पनि विचलित नभईकन राष्ट्रको रक्षाको निम्ति लागिरहन प्रेरित गर्छ । बलिया छिमेकीहरुको बक्रदृष्टिबाट आफूलाई जोगाउनका निम्ति सापेक्षिक रुपमा कमजोर राष्ट्रको निम्ति कूटनीतिक चातुर्य, आन्तरिक शक्ति र एकता तथा अन्य मुलुकहरुसंगको सहकार्य सबैको महत्वपूर्ण भूमिका रहन्छ । यातायात  तथा संचार प्रविधि र सुविधाको विकास नभएको सयौं बर्ष अगाडिको समयमा पृथ्वीनारायण शाह र भीमसेन थापा आदिले अन्य मुलुकहरुसंगको एकता र सहकार्यको सपना देखेर त्यसको निम्ति प्रयत्न गरेको इतिहासले समेत उनीहरुको दुरदर्शिता उजागर गर्छ ।

 

इतिहासको अध्ययनले हामीहरुलाई जसले निरन्तर दबाउन खोजेको छ, जसले आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गर्दै आएको छ, जसले प्राकृतिक श्रोत र साधनमा अनेक प्रपंच गरेर कब्जा जमाउँदै आएको छ र जसले सीमामा समेत अतिक्रमण गर्दै आएको छ उसैसंग लम्पसार परेर, उसैले बनाएका संगठनहरुमा सामेल भएर र उसैले राखेका प्रस्तावमा ताली ठोकेर देशको स्वाधीनताको रक्षा हुन सक्दैन, देश उँभो लाग्न पनि सक्दैन भन्नेकुराको शिक्षा समेत दिंदै आएको छ । त्यसैले नेपालका वर्तमान शासकहरु पनि इतिहासबाट शिक्षा लिएर अघि बढ्न आवश्यक देखिन्छ । आफ्ना परिवारका सदस्यको रक्षा गर्ने, खाने कुरा खान खोज्ने र बस्ने ठाउँ बनाउने वा खोज्ने पर्यत्न चराचुरुङ्गी र जङ्गली जनावरहरुले समेत गर्छन् भन्नेकुरा हामीहरुले देख्दै आएका छौं ।

 

आफ्नो र आफ्नो परिवारका सदस्यको चाहना पूरा गर्ने, निजी सम्पत्ति थुपार्ने काममा मात्रै ध्यान दिने र त्यसको निम्ति विदेशी शक्तिहरुको इशारा र चाहना अनुसार काम गर्ने वा उनीहरुको प्रभुत्वलाई वैधानिकता दिन अग्रसर हुने प्रवृत्तिले राजनीतिक नेतृत्वलाई पशुपंक्षीको स्तरबाट माथि उठाउदैन भन्नेकुरामा नेतृत्वको ध्यान पुग्न जरुरी छ । भीमसेन थापाको इतिहासले राजनीतिक नेतृत्व, सेनार जनता सबैलाई राष्ट्रको हितप्रति निष्ठावान भएर लागिपर्न घच्घच्याइरहेको देखिन्छ ।


अन्त्यमा २५१औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापाप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली ! (साँघु साप्ताहिक, २०८२ साउन १२)
 

प्रतिकृया दिनुहोस