• मंगलबार-श्रावण-१३-२०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनभर भक्तजनको चहलपहल (तस्बिरसहित) 

 

बेलायत । पछिल्लो समय विदेशमा बसोबास गर्ने नेपालीहरुले विदेशमै मन्दिरहरु स्थापना गरी धार्मिक गतिविधिहरुमा अग्रसर हुन थालेका छन् । साउन महिना सुरु भएयता बेलायतस्थित साउथ इष्ट लण्डनको प्लमस्टिडमा हिन्दू धर्मावलम्वी नेपालीहरुद्वारा स्थापित पशुपतिनाथ मन्दिर विशेष कार्यक्रमहरुको आयोजना भइरहेको छ । 

 

बेलायतको पहिलो हिन्दू मन्दिर भएकाले श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । विशेषगरी चाडपर्वका अवसरमा मन्दिरमा पूजा आराधना र भजन–किर्तनको आयोजना हुने गरेको छ । 

बेलायतमा नेपाली बस्ती भएका अन्य क्षेत्र अल्डरसट, बर्मिङ्घम, वेम्लीलगायत स्थानका स्थानीयहरुको विशेषगरी मन्दिरहरुमा भिड लाग्ने गर्दछ । यसैगरी अहिले साउन महिनाभरी उक्त पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा भइरहेको छ । साथै यस महिनाभरी हरेक दिनजसो भजन–किर्तन, पूजापाठ हुने गरेको काठमाडौं,धुमवाराही घर भई हाल बेलायत बस्दै आएका पण्डित निलहरी घिमिरेले जानकारी दिए । 

उनले भने,‘बेलायतमा अहिले एकदमै धेरै चाप भएको मन्दिर नै यही हो । भक्तजनहरुले पनि बेलायतमै रहेका राम, राधेकृष्ण, स्वामी नारायण मन्दिरमा भन्दा यहाँ धेरै नै चहलपहल हुने गरेको छ । यहाँ नेपाली समुदाय पनि ठूलो छ । टाढा टाढाबाट आउनुहुन्छ । जनै पूर्णिमा, दशै, शिवरात्रीमा हजारौं भक्तजनहरु आउनुहुन्छ । तीजमा पनि धेरै भिडभाड हुनेगर्छ ।’

पण्डित घिमिरेका अनुसार जुनसुकै देशमा जाँदा पनि नेपालीहरुलाई एकजुट हुने थलो खड्किने गरेकाले धार्मिक आस्थाको केन्द्रको स्थापना हुनु आवश्यक छ । विदेशमा पनि मन्दिर निर्माण हुनु आवश्यक रहेको उनले औंल्याए ।

हाल पशुपतिनाथ मन्दिर रहेको स्थानलाई फराकिलो बनाउनुपर्ने र सामूदायिक हलको आवश्यक रहेकाले आफूहरुले अभियान बनाउने योजना बनाइरहेको बताए । बेलायतको प्रमुख धर्म क्रिश्चियन रहेकाले ४६.३० प्रतिशत मानिसहरु क्रिश्चियन धर्ममा आबद्ध छन् भने हिन्दू धर्म मान्ने १.८ प्रतिशतमा छन् ।
 

 

प्रतिकृया दिनुहोस