• बुधबार-श्रावण-१४-२०८२

कम्पनी रजिष्ट्रारको कार्यालय : ‘मुसाको दुलोमा सातुको थैलो’ !

 

काठमाडौँ । ०८२ साउन ५ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रारको कार्यालयलाई बद्नाम गराएको आरोपमा ३१ जना कर्मचारीहरूलाई एकैपटक सरुवा गरेको थियो । लगत्तै मन्त्रालयले सहसचिव एवम् रजिष्ट्रार ईश्वर कुमार गिरीलाई पनि साउन ८ गते बिहीवार नै मन्त्रालयमा तानेको छ । त्यसयता कार्यालय उप–रजिष्ट्रार एवं निमित्त देवीप्रसाद सुवेदीको भरमा संचालन हुँदै आएको छ । रोचक र उदेक लाग्दो विषय त कार्यालयलाई बद्नाम गर्ने रजिष्ट्रारको कार्यालयका केही कर्मचारीहरूलाई विभागीय कारवाही नगरी बाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभाग कामकाजमा खटाइएको छ । 


मन्त्रालयले  निजामती सेवा ऐन ०४९ को दफा १८ क बमोजिम उनीहरुलाई विभागमा खटाएको जानकारी दिएको छ । मन्त्रालयले विभागीय कारवाहीका लागि भन्दै निवर्तमान कम्पनी रजिष्ट्रार गिरीलाई मन्त्रालयमा तानेर कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी भने उपसचिव सुवेदीलाई दिइएको हो । जबकि सुवेदीले नै निवर्तमान रजिष्ट्रार गिरीलाई गलत सुझाव र सल्लाह दिएर कार्यालयलाई बद्नाम गराउन भूमिका खेलेको आरोप कर्मचारीले गलाएका थिए ।

 

लोक सेवा आयोगलगायतका विभिन्न सरकारी निकायमा कार्यरत रहँदा पनि सुवेदी विवादमा पर्दै आएको आरोप कर्मचारीहरुले लगाएका छन् । जुन जुन निकायमा उनले जिम्मेवारी सम्हालेका छन् उनको भूमिका शंकास्पद गतिबिधि रहेको स्रोतले बताएको छ । स्थानीय तह पुनर्संरचना आयोगमा प्रतिवेदन तयारीलगायत संक्रमणकालीन कार्यमा पनि उनको भूमिका शंकास्पद देखिएको चर्चा हुने गरेको थियो । कारागार व्यवस्थापन विभागमा कार्यरत रहँदा पनि सुवेदीले स्वार्थका लागि आफूखुसी बजेट बाँडेको आरोप लागेको थियो । कारागार व्यवस्थापन सूचना प्रणालीको विकासको नाममा उनले बद्मासी गरेको बताइन्छ । पछिल्लो समय सुवेदीकै प्रभावमा परेर रजिष्ट्रार गिरी र सुवेदीले प्राबिधिक कर्मचारीहरुसँग मिलेर दाम आउने फाइलहरुलाई आफू अनुकूलका कर्मचारीहरु कहाँ पठाएर राम्रै आम्दानी गरेको आरोप लाग्दै आएको छ । यी सबै विषय अख्तियार दुरुपयोग अनुसन्धा आयोगले अनुसन्धान थालेको स्रोत बताउछ । 


  निवर्तमान रजिष्ट्रार गिरीलाई विभागीय छानबिनमा मन्त्रालयमा तानेर उपसचिव सुवेदीलाई कार्यालयको निमित्तको नेतृत्व दिएकोप्रति केही कर्मचारीले ‘मुसाको दुलोमा सातुको थैलो’ भनेर व्यंग्य गर्न थालेका छन् । नौ महिनाको अघि कार्यालयमा भित्रिएका सुवेदीले नै तत्कालीन नेतृत्वलाई गलत सुझाव र सल्लाह दिएर कार्यालयलाई मात्र नभएर सिङ्गो मन्त्रालयको नेतृत्वलाई समेत बद्नाम गरेको आरोप उनीमाथि लगाइएको छ ।

 

जबकि, उनले निमित्तको जिम्मेवारी पाएसँगै सामाजिक संजालमा यो अवधिमा हाम्रो सानो सुधारात्मक टिमले नयाँ प्रणालीलाई पूर्ण कार्यान्वयनमा लगेर भर्खर ‘संस्थागत’ गर्नेक्रम चलिरहँदा–यथास्थितिको चाप र अग्रगमनको प्रसव–पीडाबीच केही अकल्पनीय घटनाक्रमहरू विकास भएको भनेर लेखेर आफू भने पानी माथिको आभानो बन्न खोजेको आरोप छ । (साँघु साप्ताहिक, २०८२ साउन १२) 
 

प्रतिकृया दिनुहोस