• बुधबार-श्रावण-१४-२०८२

गृह मन्त्रालयको बेथितिले सीमा नाघ्यो : शक्तिशाली गृहसचिव दुवाडी ‘रेड जोन’मा !

 

काठमाडौं । बुढानीलकण्ठ दरवारको शक्तिले पद पाएका गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी र प्रशासन महाशाखाका सहसचिव छवि रिजालकाबिचमा समन्वयको अभाव बढ्दै गएको चर्चा छ । जसले गर्दा मन्त्रालयको अतिरिक्तमा नौ जना सहसचिव र डेढ दर्जन उपसचिवहरू महिनौदेखि जिम्मेवारविहीन हुन पुगेको गुनासो सुनिन्छ । कार्यालय प्रमुख, प्रजिअ र विभागका महानिर्देशकको जिम्मेवारी संहालिसकेका वरिष्ठ सहसचिवहरूलाई जिम्मेवारीविहीन बनाइएकोमा पीडितहरु भने अमिलो मन बनाएर हिंडिरहेका छन् । उपसचिवस्तरका कर्मचारीलाई भने गृह सचिव दुवाडीले रिक्त स्थानमा खटाउनसक्ने कानूनी प्रवाधान रहेको छ ।


तर, सचिव दुवाडीकै कमजोर निर्णय क्षमताको कारणले गर्दा लामो समयदेखि गृह मन्त्रालयमा उपसचिव र सहसचिवहरू जिम्मेवारी नपाउँदा बरण्डामा हल्लिएर हिंड्न बाध्य छन् । चालु आर्थिक वर्षमा अवकासमा जान लागेका वरिष्ठ सहसचिव प्रेमप्रसाद भट्टराईलाई मन्त्री लेखक र सचिव दुवाडीले ६ महिना भन्दा बढी समयदेखि जिम्मेवारी नदिई बरण्डामा थन्क्याइएको थियो । उनी, मोरङ जिल्लाको सिडिओबाट मन्त्रालयमा तानिएसँगै मन्त्रालयमा दैनिक हाजिर गर्दै काम नगरी तलब थाप्दै आएका थिए । उनलाई निजामती प्रशासनमा अनुभवी, निडर क्याडर र कडा प्रशासक रुपमा हेरिने गरिएको कर्मचारीहरु बताउँछन् ।


सहसचिव भट्टराईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको जिम्मेवारीसमेत कुशलतापूर्वक पूरा गरेका थिए । महत्वपूर्ण जिल्लाहरुको प्रजिअ र विभागको महानिर्देशक भइसकेका सहसचिव भट्टराईलाई एक महिना अघिमात्र यसअघि जिम्मेवारी संहालिसकेको कसुरजन्य विभागमा नै पुन खटाइनुले गृहका कर्मचारीहरुले  आश्चर्य प्रकट गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसा सेटिङको आरोपमा मन्त्रालयमा तानिएका सहसचिव तीर्थराज भट्टराईलाई पनि गृहकै बरण्डामा थन्क्याइएको छ ।


उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भनिएता पनि हालसम्म कुनै संलग्नताको प्रमाण भने फेला पारेर कारवाही गर्न नसकेको स्रोत बताउछ । त्यसकारण छानबिन नै ढिसमिस हुन लागेको जानकार स्रोतले दावी गरेको छ । सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट २०८२ जेठ ६ गते मन्त्रालयमा तानिएको थियो । त्यसयता मन्त्रालयले उक्त कार्यालयमा दुई जना सहसचिवलाई प्रमुखको जिम्मेवारीमा खटाइसकेको छ । पाँचथरको सिडिओबाट सहसचिव विष्णुप्रसाद कोइरालालाई २०८२ जेठ पहिलो साता नै विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको डेढ महिनामै मन्त्रालयमा तानिएको थियो ।


त्यसपछि एयरपोर्टमा भने खोटाङको सिडिओबाट तानेर सहसचिव नरहरि घिमिरेलाई खटाइएको छ । उनी अख्तियारमा रहेर काम गरिसकेकोले पनि उनको कार्य सम्पादनप्रति तत्काल आयोगको नजर नपर्ने देखेर नै खटाइएको अनुमान कर्मचारीले गरेका छन् । यही कारण सहसचिव रामचन्द्र तिवारीलाई भने अध्यागमन विभागको महानिर्देशकमा योजनाबद्ध रुपमा नै खटाएको मन्त्रालय स्रोतले दावी गरेको छ । अर्को रोचक विषय वरिष्ठ सहसचिव कोइरालालाई मन्त्रालयमा सरूवा गरेर कनिष्ठद्वय तिवारी विभाग र घिमिरेलाई भने कार्यालयमा खटाइएको मन्त्रालय स्रोतको भनाई रहेको छ ।


विमानस्थलबाट मन्त्रालयमा तानिएका सहसचिव कोइराला पनि त्यसयता जिम्मेवारी नपाउँदा दैनिक मन्त्रालयमा हाजिर गरी दिन काट्दै आएका छन् । अध्यागमन विभागको महानिर्देशकबाट तानिएका सहसचिव गोविन्द प्रसाद रिजाललाई पनि कुनै जिम्मेवारी दिइएको छैन । उनले साउन ९ गते शुक्रवारबाट मात्र मन्त्रालयमा हाजिर गरेको बताइएको छ । यो बिचमा उनी सचिव दुवाडीको नेतृत्वमा सुरक्षा निकाय प्रमुखसहितको टोलीमा सहभागी भएर छिमेकी मुलुक भारत गएका थिए ।


सचिव दुवाडीको नेतृत्वमा २०८२ साउन ६ र ७ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तीन सुरक्षा निकायको टोली त्यसर्फ गएको थियो । सीमा सुरक्षा, अन्तरदेशीय तस्करी, आतंकवाद नियन्त्रण, क्षेत्रीय शान्ति सुरक्षा, लागू औषध तस्करी नियन्त्रणलगायतका नेपाल–भारत सुरक्षाका विषयमा छलफल गर्न सुरक्षा टोली भारतको नयाँ दिल्ली गएको थियो । भ्रमण टोलीमा नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडा मगर र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र मन्त्रालयका सहसचिव रिजाल पनि दिल्ली गएको बताइन्छ ।


सहसचिव रिजालले कर्मचारी प्रशासन महाशाखाका ताकेको बताइन्छ । तर, उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा भने पर्वत निवासी सहसचिव छवि रिजाल रहेका छन् । उनलाई शान्ति सुरक्षा महाशाखा पठाएर गोबिन्दलाई भने कर्मचारी प्रशासन महाशाखाको जिम्मा दिने तयारी भइरहेको बुझिएको छ । हाल मन्त्रालयमा महोत्तरीको सिडिओबाट तानिएका सहसचिव लालबाबु कवारी पनि जिम्मेवारी नपाएर बरण्डामा हल्लिरहेका छन् । उनी ५८ वर्षे उमेरहदका कारण आगामी २०८२ कात्तिकमा सेवा निवृत्त हुने सूचीमा रहेको बताइन्छ । विभिन्न जिल्लाको सिडिओमा कार्यरत रहेकै अवस्थामा मन्त्रालयमा तानिएका सहसचिवहरू वेदप्रसाद खरेल, नरबहादुर थापा, बुद्धबहादुर गुरुङ र लिलाराज शर्माहरुलाई पनि जिम्मेवारी नदिएर बरण्डामा थन्क्याइएको छ ।


सुदूर पश्चिम प्रदेशका एकमात्र सहसचिव लिलाराज शर्मालाई सिन्धुलीको सिडिओबाट तानेर कुनै जिम्मेवारी दिइएको छैन । बरण्डामै  रहेकी सहसचिव कल्पना श्रेष्ठले बल्ल खोटाङको सिडिओको जिम्मेवारी पाएकी छिन । गृहको शान्ति सुरक्षा महाशाखा जस्तो अति महत्वपूर्ण महाशाखामा पनि दुई हप्तादेखि सहसचिवविहीन बनाएर रिक्त राखिएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएको बुझिएको छ । यस्तै मन्त्रालयको बरण्डामा उपसचिवहरू खेमराज ओझा, दिनेश प्रसाद थानी, फणीन्द्र दाहाललाई राखिएको छ । मन्त्रालयले उपसचिव जितेन्द्र कुमार यादव, माधवप्रसाद ढुंगाना, सिता परियार, विजया कुमारी प्रसाई, सूर्यप्रसाद उपाध्यायलाई पनि कुनै जिम्मेवारी दिएको छैन ।


उपसचिवहरु तारानाथ पनेरु, नवराज जैसी, रमा आचार्य सुवेदी, सत्यराज जोशी, नरेश कुमार यादव, पर्शुराम पोखरेल, शेखर पौडेल, अच्युत श्रेष्ठ, दीर्घराज उपाध्याय र मोहनराज जोशी पनि मन्त्रालयको बरण्डामा हल्लिरहेको बताइन्छ । आफ्नै जिल्ला दैलेखको कामु सिडिओबाट तानिएका जैसी, कामु सिडिओबाट तानिएका उपाध्याय र जोशी पनि अहिले गृहको जगेडामा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतबाट गृह तानिएकी उपसचिव सीता परियार नेपाली काँग्रेस निकट मानिन्छ । 


त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट ४५ जना अध्यागमन अधिकृतहरूले सरूवा मागेर मन्त्रालयमा फकिएका छन । भिजिट भिसा सेटिङमा अख्तियारले निगरानी बढाएपछि कर्मचारीको आकर्षण अध्यागमन कार्यालयप्रति घट्दै गएको छ । सचिव दुवाडीसँग अधिकृतहरुले कार्यालयबाट सरूवा गरिदिन आग्रह गरेपछि लोक सेवा पास गरेर आएका नयाँ फेसलाई खटाइएको छ । यद्यपि, गृह प्रशासनमा सचिव दुवाडीले राम्रो समन्वय गर्न नसक्दा आकर्षक र मालदार निकायमा मात्र कर्मचारी जान खोज्ने प्रवृत्ति मौलाएको छ ।


जसले गर्दा हिमाल, पहाड र दुर्गम जिल्ला र ठाउँमा कर्मचारी जान अटेर गर्ने प्रवृत्तिले बरण्डामा कर्मचारी थुप्रिनेक्रम बढेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसले गर्दा गृह प्रशासन सञ्चालनमा सचिव दुवाडी कमजोर मात्र नभएर असफल नै हुन पुगेका छन् । त्यसैले गृह मन्त्री लेखकले नयाँ सचिवको खोजी गर्न थालेको स्रोत बताउँछ । सचिवहरु मुकुन्द प्रसाद निरौला वा कृष्णहरि पुस्कर र हाल अर्थ सचिवको भूमिकामा रहेका घनश्याम उपाध्याय रेग्मीलाई गृहमा भित्र्याउने चर्चा चल्न थालेको छ । सिडिओमा सरूवा गर्दा पनि गृह प्रशासन उपसमूह बनाएर तालिम दिएर खटाउन सकेमा मात्र जिल्लाहरूमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सकिने थप मद्दत पुग्ने सुझावहरु प्राप्त भइरहेको गृह स्रोत बताउछ ।


अहिले त गृहको कुनै अनुभव नभएकाहरूलाई ‘क’ वर्गको जिल्लाको जिम्मेवारीमा खटाउँदा गृह प्रशासनमा अस्थिरता, भद्रगोल र कुशासन फस्टाउदै गएको जनगुनासो छ । मुख्यसचिव एकनारायण अर्यालले सचिव दुवाडीलाई बारारम्वार पत्राचार गरी जिम्मेवारवबिहीन बनाएर बरण्डामा कर्मचारीलाई नराख्न निर्देशन दिंदै आएको स्रोत बताउछ । तरपनि माथि उल्लेखितलगायत ती विषयहरुमा पटक–पटक ध्यानाकर्षण गराउँदासमेत आदेशको अवज्ञा भएको पाइएको छ । त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिव गृह दुवाडीलाई रेड जोनमा पारिसकेको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ साउन १२)
 

प्रतिकृया दिनुहोस