• बुधबार-श्रावण-१४-२०८२

डोल्पाको ठूलीभेरी नदीको बिचमा फसेका ४ जना स्थानीयकाे सेनाद्वारा सकुशल उद्धार

सुरक्षाकर्मी, स्थानीय र संग्राम शार्दुल गुल्मको संयुक्त प्रयासमा सफल उद्धार

 

डोल्पा, साउन १३ – डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका–३, धूपीचौरस्थित ठूलीभेरी नदीको बिच भागमा फसेका चार जना स्थानीय बासिन्दाहरूलाई नेपाली सेनाको संग्राम शार्दुल गुल्मबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहकार्यमा सकुशल उद्धार गरेको छ।

उद्धार गरिएका व्यक्तिहरू नदीको बढ्दो वहावका कारण झण्डै ४ घण्टासम्म नदीको टापुजस्तो बनेको बिच भागमा फसेका थिए। उनीहरू नदी तर्न खोज्दा अकस्मात आएको बाढीले सुरक्षित किनारातर्फ फर्किन नपाएर बीचमै अड्किएका थिए ।

घटनाको जानकारी पाएलगत्तै नेपाली सेनाको संग्राम शार्दुल गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीहरू सक्रिय भई उद्धारको प्रक्रिया अगाडि बढाइएको थियो। उद्धार टोलीले जोखिम मोलेर डोरी, डुंगा र अन्य प्रविधिको प्रयोग गरी ती चारैजनालाई ज्यानमारा बाढीबाट सुरक्षित रुपमा निकाल्न सफल भएको हो।

संग्राम शार्दुल गुल्मका गुल्मपति (कमाण्डर) ले बताएअनुसार, “स्थानीय प्रशासनको समन्वयमा, सबै सुरक्षाकर्मी र समुदायको साझा प्रयासले उद्धार सफल भयो। समयमै सूचना प्राप्त भएको र समन्वयात्मक कार्यशैली नै मुख्य कारण बन्यो।”

यस घटनाले डोल्पा लगायतका दुर्गम क्षेत्रमा विपद्‌ व्यवस्थापन तथा आकस्मिक उद्धार संयन्त्र अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, नदी तथा खोलानाला आसपास बसोबास गर्ने वा आवतजावत गर्ने स्थानीयहरूलाई मौसम पूर्वानुमान र सुरक्षाका उपायहरूको जानकारी गराउँदै सचेत गराउनुपर्ने देखिएको छ।

घटनामा संलग्न व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

स्थानीयवासीहरूले सुरक्षाकर्मीहरूको द्रुत प्रतिक्रिया र समर्पणका लागि धन्यवाद प्रकट गरेका छन्। यसप्रकारको सफल उद्धारले संकटको घडीमा सुरक्षा संयन्त्रप्रति जनविश्वास अझ बलियो भएको स्थानीयको प्रतिक्रिया छ।

प्रतिकृया दिनुहोस