• शुक्रबार-श्रावण-२३-२०८२

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप

 

काठमाडौं । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ । 

 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रालिले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ ।

 

विज्ञप्तिमा भनिएको छ,‘आज हामी अत्यन्तै दुःख र पीडाका साथ, नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट हामीमाथि भएको चरम अन्याय, धोकाधडी र त्यसले हाम्रो व्यावसायिक एवं व्यक्तिगत जीवनमा असर पारेको छ ।’

 

संस्थाका महासचिव देवान राईको अनुसार वि.सं. २०७२ साल तत्कालीन संघका अध्यक्ष महेश तामाङले आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट फोर्स कम्पनीको ९ सिट क्षमताको ‘गामा’ जिप खरिद गरेका थिए । २०७३ सालमा कम्पनीका तत्कालीन बजार व्यवस्थापक सन्तोष नेपालसँग भएको छलफल र उनले दिएको आश्वासनपछि प्रालिले आफ्नो संस्थामा फोर्स कम्पनीका गाडीहरू भित्र्याउने सहमति गरेको थियो ।

 

कम्पनीले गाडीको प्रदर्शन, विशेषगरी कच्ची सडकमा यसको मजबुती र विश्वसनीयताको बारेमा ठूला–ठूला दाबीहरू प्रस्तुत गरेको थियो । सोही विश्वासमा परेर संस्थामा आबद्ध हुने नयाँ व्यवसायीहरूले फोर्स कम्पनीकै गाडी किन्ने एक सहमति समेत गरी परीक्षणका लागि सुरुमा एउटा फोर–ह्वील गाडी खरिद गर्ने निर्णयमा भएको थियो । 

 

सोही निर्णयबमोजिम महासचिव राईले वि.सं. २०७३ साल जेठ ११ गते ग १ ज ६६५८ नम्बरको १३ सिटे क्रुजर फोर–ह्वील जिप खरिद गरें । उक्त गाडीको मूल्य रु. ४० लाख ५० हजार कायम गरी रु. ८ लाख १० हजार डाउन पेमेन्ट आयामका तत्कालीन प्रबन्ध निर्देशक राजन लम्साललाई बुझाइयो र बाँकी रकम सिद्धार्थ बैंक, महाराजगञ्ज शाखाबाट ऋण लिएर गाडी सञ्चालनमा ल्याइएको थियो । 


फोर्स गाडी किन्न आकर्षित गर्न कम्पनीले गाडीमा जर्मनीको विश्वप्रसिद्ध ’मर्सिडिज बेन्ज’को इन्जिन छ । इन्जिन, गियरबक्स र क्राउनमा ३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी छ भनिएकोमा व्यवहारमा यी सबै दाबीहरू केवल फसाउने जाल मात्र साबित भएको उनी बताउँछन् । 

 

इन्जिन सिज : फोर–ह्वील गाडी किनेको एक महिनामै गुड्दागुड्दै इन्जिन सिज हुने, टायर फुत्किने : गाडी गुडिरहेकै अवस्थामा पटक–पटक टायर फुत्किएको जस्ता प्राविधिक समस्या देखिएको उनको भनाई छ । 

 

हलेसीस्थित कदुवा भन्ने ठाउँमा म देवान राईको गाडी टायर फुस्किदा गाडी भित्ता ठोकिन पुग्यो, १३ यात्रु घाइते भएको उनले जानकारी दिए । 

 

यस्तो छन् मागहरु

१.कम्पनीको ग्यारेजमा थन्किएर बसेको (देवान राई) सहित अन्य व्यवसायीहरुको गाडीको सम्पूर्ण हरहिसाब गरी आजसम्मको बैंकको साँवा–ब्याजसहित पूर्ण क्षतिपूर्ति तत्काल उपलब्ध गराउने ।

२.फोर्स कम्पनीका गाडीहरू खरिद गरी पीडित बनेका अन्य सम्पूर्ण व्यवसायीहरूको पहिचान गरी उनीहरूले भोगेको आर्थिक तथा मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति प्रदान गरियोस् ।

३. कम्पनीले आफ्ना कमसल गाडीहरूमा देखिएको प्राविधिक त्रुटि सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका अन्य गाडीहरूको उचित व्यवस्थापन गरोस् ।

४. राज्यका सम्बन्धित निकायहरू (यातायात व्यवस्था विभाग, वाणिज्य विभाग, उपभोक्ता हित संरक्षण मञ्च) ले यस विषयमा गम्भीर छानबिन गरी दोषी कम्पनीलाई कारबाहीको दायरामा ल्याओस् ।

 

 

प्रतिकृया दिनुहोस