खोटाङ, २६ साउन : अविरल वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान करिब ८ः०० बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका ७ः०० बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएर बीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै रोकिएका थिए ।
करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।
---
प्रतिकृया दिनुहोस