काठमाडौं, श्रावण ३० — काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७९ औं स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ मनाइयो। कार्यक्रममा नेपालमा बसोबास गर्ने भारतीय समुदायका सदस्य र भारतका मित्रहरूको उल्लेखनीय सहभागिता रह्यो।
समारोहको सुरुवात नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा फहराउँदै गर्नुभयो। त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सम्बोधन प्रसारण गरियो। सम्बोधनमा राष्ट्रपतिले विगत ७८ वर्षमा भारतले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको चर्चा गर्नुभयो।
कार्यक्रमका क्रममा राजदूतले भारतका सशस्त्र बलका दिवंगत कर्मचारीका परिवारलाई सम्मान गर्दै कुल नेरु. ६.४ करोड बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फण्ड (AGIF) चेक हस्तान्तरण गर्नुभयो। साथै, दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ विद्यालय र पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा पनि गर्यो। यसले दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।
उत्सवमा सहभागीहरूले देशभक्तिपूर्ण गीत र सांस्कृतिक प्रस्तुति समेत अवलोकन गरे। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूले प्रस्तुत गरेका गीत र नृत्यहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध पारे।
कार्यक्रमको माहोल मित्रता, सहकार्य र सांस्कृतिक एकताको प्रतीक बनेको दूतावासले जनाएको छ।
प्रतिकृया दिनुहोस