दार्चुला पावर लिमिटेडको साधारण शेयर सार्वजनिक निष्काशनका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त । ३० लाख कित्ता साधारण शेयर निष्काशन हुने, मध्य चमेलिया आयोजना डेढ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएकाे छ ।
काठमाडौं । दार्चुला पावर लिमिटेडले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर रु. १०० अंकित दरका ३०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडका अध्यक्ष सतिस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
दार्चुला पावर लिमिटेड जलविद्युत आयोजना विकास तथा सञ्चालनको उद्देश्यले स्थापना गरिएको कम्पनी हो । हाल कम्पनीले २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
रन–अफ–रिभर प्रकारको यो आयोजना दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेशमा अवस्थित छ । कम्पनीका अनुसार आयोजनाको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ र आगामी डेढ वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिइएको छ ।
यस कम्पनीको प्रमुख प्रवद्र्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड रहेको छ । विद्युत क्षेत्रमा अग्रणी अपि पावरले दार्चुला पावरमा मुख्य शेयर स्वामित्व रहने गरी लगानी गरेको र आवश्यक स्वपूँजी प्रवाह गरेर परियोजनाको विकास अगाडि बढाउने जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस