काठमाडौँ, १ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयामका साथै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभयो । यसैगरी उहाँले दुई देशबीचमा पछिल्लो समय ‘कनेक्टिभिटी’ बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक सङ्लग्नता बढेकामा खुसी व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री डा राणाले ‘कनेक्टिभिटी’ नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गको थप विस्तार गरी हवाई सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले भैरहवास्थित गौतमबुद्ध र कास्कीस्थित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउन आग्रह गर्नुभयो । नेपालगञ्ज—दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री डा राणाको जोड थियो ।
उहाँले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको तदारुकतामा पनि जोड दिनुभयो । मन्त्री डा राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिनुभयो । साथै पछिल्लो समय प्लाईवुड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र ‘बिआइएस’ मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाउनुभएको थियो ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभ, बाढी र डुबान नियन्त्रणका बारेमा आगामी दिनमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा पनि मन्त्री डा राणाले जोड दिनुभयो ।
कांग्रेस सभापति देउवासँग भारतीय विदेश सचिवको भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँहरूबीच नेपाल–भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुुभएको हो ।
भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने विश्वास गरिएको छ ।
---
प्रतिकृया दिनुहोस