• सोमबार-भदौ-१६-२०८२

करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

 

विराटनगर । करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णयले झाँगड उराँव समुदाय खुसी बनेको छ । सोही खुसीस्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको हो ।

 

गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायले मनाउने करम पूजा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस कदमले समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानलाई सम्मान गरेको भन्दै समुदायका अगुवा छेबीलाल उराँवले धन्यवाद व्यक्त गरेका हुन् । 

 

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरे ।

 

सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले झाँगड उराँव समुदाय लोपोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षण, संवद्र्धन र पहिचानको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

 

करम पूजा पर्व हरेक वर्ष भाद्र महिनाको अनन्त चतुर्दशी तथा पूर्णिमाका दिन मनाइन्छ । २०७८ सालको जनगणना अनुसार नेपालमा करिब ४१ हजार झाँगड उराँव समुदायका मानिसहरू रहेका छन्, जसको प्रमुख बसोबास मोरङ, सुनसरी र झापा जिल्लामा छ ।
 

 

 

प्रतिकृया दिनुहोस