बाजुरा । बाजुराको लाईफ लाईनको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड तीन महिना पुग्नै लाग्दा पनि खुल्न सकेको छैन ।
सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेग जोड्ने सडक खण्ड बर्षातको समय सुरु भएसँगै अवरुद्ध भएको हो । असार दोस्रो हप्तादेखि अवरुद्ध भएको उक्त सडकखण्ड भदौको तेस्रो हप्ता सुरु भईसक्दा सम्म पनि खुल्न सकेको छैन् ।
हालसम्म सडक खुल्न नसक्दा पुर्वी उत्तरी भेगका चार वटा पालिकाका नागरिक छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट त्यस्तै बडीमालिकाको ढम्कने,रजातोली,सिराडी लगायतका स्थानीयलाई आवत–जावत गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सास्ती बेहोर्नु परेको छ ।
मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली(दानचौर) रजातोली त्यस्तै भासुपाल लगायत विभिन्न स्थानको पहिरो र बाउली,रजातोली,दानासाघु खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावलका अनुसार सडकखण्ड सञ्चालनको लागी सम्बन्धित निकायलाई ताकेता गरिएको भए पनि सडकखण्ड खुलाउने कुनै सुरसार नभएको बताएका छन् ।
ठाउँ–ठाउँमा पहिरो खसेकोले सडकखण्ड सुचारु गर्न नसिकएको उनको भनाइ छ । मार्तडी–कोल्टी सडक खण्ड हरेक वर्ष अबरुद्ध हुँदा सास्ती खेप्नु परेको बडिमालिका ७ का स्थानीय तथा शिक्षक प्रेमलाल पाध्यायले बताएका छन् ।
ठाउँ–ठाउँमा सडक अबरुद्ध हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । जिल्ली पहिरोका कारण लक्ष्मी मावि बर्षाैदेखि उच्च जोखिममा रहेको उनले बताए । जिल्ली पहिरोले विद्यालय बर्षाैदेखि जोखिममा रहनुका साथै माथि पहिरो हेर्दै पढाउनु पर्ने बाध्यता छ ।पटक–पटक विद्यालयको अवस्था बारे स्थानीय,प्रदेश तथा संघ सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको पाध्यायले बताए ।
मार्तडी–कोल्टी सडकखण्ड बर्षेनी असारदेखि असोजसम्म करिब ५ महिना पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । उक्त सडकखण्ड अहिलेसम्म कालोपत्रे नहुँदा बर्षेनी समस्या भाग्नुपर्ने बाध्यता छ । मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक त्यस्तै चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडकमा केही कार्य भए पनि अरु निर्माण कार्य अलपत्र छ ।
बडीमालिका–७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो खसेपछि सडक अवरुद्ध छ । त्यस्तै बाउली, रजातोली, दानसाँघु लगायतका ठुला नदीमा पुल नहुँदा बर्षेनी समस्या हुने गरेको छ । सडक सुचारु गर्न बडीमालिका नगरपालिका र पूर्वाधार विकास कार्यालयबीच सम्झौता भएको थियो । उक्त सम्झौतामा नगरपालिकाको डोजरले सडकको पहिरो हटाउने र बजेट सम्बन्धित निकाय सडक पूर्वाधार कार्यालयले भुक्तानी गर्ने भनिए पनि कार्यान्वयन भने भएको छैन् ।
प्रतिकृया दिनुहोस