काठमाडौं । करिब २३ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिहरुले प्रयोग गरेका छन् । लोयलटी स्कूलका विजय सम्बाहाम्फेले पनि सार्वजनिक जग्गा मिचेको समाचार छ । उनलाई उपत्यका विकास प्राधिकरणको नेतृत्वले मिचिएको जग्गा फिर्ता गर्नसमेत आग्रह गरिसकेको बताइन्छ । महादेव खोलामा ठूलाबडाहरुले पहुँचका आधारमा हड्पेको जग्गा प्राधिकरणले रोका गरिसकेको स्रोतले दावी गरेको छ ।
बानेश्वरमा नानीबाबु नाम गरेका व्यक्तिले तीन आना जग्गा किनेर चार रोपनी जग्गा अतिक्रमण गरेर बसेको आरोप छ । अवैध प्लटिङ रोक्न खोज्दा उल्टै प्राधिकरणको नेतृत्व, बोर्ड, सचिवालयमा कार्यरत कर्मचारीलाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ । प्राधिकरणका कानून अधिकृत एवं बोर्ड सचिव घनश्याम पौडेललाई अवैध प्लटिङ रोक्न खोजेको भन्दै ज्यान मार्नेसम्मको धम्की दिइएको बताइन्छ । अवैध प्लटिङ रोक्दा प्राधिकरणका कर्मचारीहरूले ज्यान मार्ने धम्की, विभिन्न चुनौती र अपमान सामना गर्नुपरेको गनासाहरु आएका छन् ।
प्राधिकरणका स्रोतका अनुसार, हाल ९४ वटा विभिन्न अवैध प्लटिङहरुको खरिद–विक्री रोका गरिएको छ । सार्वजनिक जग्गाको संरक्षणमा प्राधिकरण लागि परेको छ । सार्वजनिक जग्गा संरक्षणका लागि शहरी विकास मन्त्री प्रकाशमान सिंहको स्पष्टरुपमा निर्देशनसमेत दिइसकेको खबर छ । मन्त्री सिंहले नै सार्वजनिक सम्पत्ति संरक्षण गरेर अगाडि बढ्न प्राधिकरणको नेतृत्वलाई निर्देशन दिंदै झकझकाइ रहेको मन्त्रालय स्रोतले दावी गरेको छ ।
काठमाडौं उपत्यकाभित्र २० फिटे बाटो र ५ प्रतिशत खुला क्षेत्र कायम गरेर मात्रै घडेरी विकास गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, हाल १० फुटे, १३ फुटे बाटो राखेर भिरालो जग्गा सम्याउने र डाँडाकाँडा खारेर घडेरी विकास गर्ने कार्य जग्गा व्यवसायीहरुले गर्दै आएका छन् । त्यस्तो जग्गामा घर निर्माण गर्न दिइदा भूकम्प, अविरल वर्षा हुँदा भत्किने, भासिने र बगाउने जोखिम बढदै गएको छ । (साँघु साप्ताहिक, २०८२ भदौ १६)
प्रतिकृया दिनुहोस