नेपालगञ्ज, २० भदौ : नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरी अदालतमा बुझाएको जानकारी दिनुभयो । सो संस्थाका एक हजार ५२६ जना बचतकर्ताले जाहेरी दिएका थिए ।
उच्च अदालत नेपालगञ्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास गरी दुई तहको अदालतले जेल सजाय र बिगो भराउने फैसला गरेसँगै उनीहरु फरार थिए । प्रहरीका अनुसार सो मुद्दाका अझै १० जना दोषी फरार छन् ।
अदालतले संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, रु ५०–५० हजार जरिवाना तोकेको छभने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।
सो सहकारीमा भएको घोटालाका सम्बन्धमा विसं २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र सङ्गठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले फैसला सुनाउँदै १९ जनालाई कसुरदार ठहर गरेको थियो । उक्त फैसला विरुद्ध प्रतिवादीहरू उच्च अदालत गएकामा २०८२ जेठ १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
---
प्रतिकृया दिनुहोस