हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय अधिवेशन शनिबार हेटौंडामा सुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा राप्रपाका सांसद दीपक बहादुर सिंहको उपस्थिति रहेको थियो ।
अधिवेशनको औपचारिक सुरुवातको क्रममा राष्ट्रिय गानको ठाउँमा ‘श्रीमान् गम्भीर र नेपाली’ गीत बजाइएको थियो, जसले सम्पूर्ण उपस्थित दलीय कार्यकर्ता तथा शुभेच्छुकहरूमा राष्ट्रिय भावनाको उत्साह थपेको थियो । गीतको धुनसँगै कार्यक्रम स्थलमा विशेष प्रकारको उत्साह र गर्वको माहोल देखिएको थियो ।
प्रमुख अतिथि सिंहले देशको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राप्रपालाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न सबै नेता, कार्यकर्ता र युवाहरूलाई संगठित भएर लाग्न आग्रह गरे। उनले अनुशासन, इमानदारी र राष्ट्रियताको भावना राप्रपाको मूलमन्त्र भएको उल्लेख गरे ।
अधिवेशनमा मकवानपुरका क्षेत्रीय प्रतिनिधि, स्थानीय नेता, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा संगठनात्मक छलफलहरू पनि समावेश गरिएका छन् ।
प्रतिकृया दिनुहोस