काठमाडौं । मुलुक राजनीतिक शून्यता र अस्थिरताबाट गुज्रिरहेको बेला जेन्जी पुस्ताले औपचारिक प्रस्तावसहित अन्तरिम सरकार गठनको माग अघि सारेका छन् । प्रस्तुत प्रस्तावअनुसार नयाँ सरकार पुराना दलहरूको प्रभावभन्दा पूर्णतया स्वतन्त्र रहनुपर्ने र यसको नेतृत्व जेन्जी पुस्ताकै हातमा दिनुपर्ने माग गरिएको छ ।
जेन्जी पुस्ताले शान्ति र स्थायित्वलाई पहिलो प्राथमिकता बनाउँदै सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रस्तावमा सेनादेखि प्रहरी र सशस्त्र प्रहरीसम्मका सुरक्षा निकायलाई पुनः जनसेवामुखी बनाइने स्पष्ट योजना प्रस्तुत गरिएको छ । यी निकायहरूलाई मात्र बल प्रयोग गर्ने संस्थाको रूपमा होइन, नागरिकको सुरक्षा र विश्वास पुनःस्थापित गर्ने संयन्त्रको रूपमा परिचालन गरिने उल्लेख छ ।
जेन्जी पुस्ताले देश संकटको मोडमा पुगेको भन्दै पुराना दलहरूले समाधान दिन असमर्थता देखाएको कारण अब नयाँ पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन नै राजनीतिक स्थायित्व र शान्ति कायम गर्ने एक मात्र विकल्प भएको दाबी गरेको छ ।
प्रधान सेनापतिज्यूलाई प्रस्ताव पठाइएको छ।
जेन्जी पुस्ताको तर्फबाट प्रस्तुत : वार्ताका लागि प्रस्ताव
नेपाल आज ऐतिहासिक मोडमा उभिएको छ। तीन दशक लामो भ्रष्टाचार, कुशासन र असफल नेतृत्वका कारण जनतामा गहिरो असन्तोष र निराशा व्याप्त छ। जेन्जी पुस्ताले नेतृत्व गरेको जनआन्दोलन अब शान्ति, स्थायित्व र नयाँ राजनीतिक व्यवस्थाको माग गर्दै निर्णायक चरणमा प्रवेश गरेको छ।
यस सन्दर्भमा राष्ट्रपति र नेपाली सेनाले गर्नुभएको वार्ताको आह्वानलाई हामी जेन्जी पुस्ताले सकारात्मक रूपमा स्वागत गर्दछौं। हामीले ल्याएका प्रस्तावहरू कुनै व्यक्तिगत वा दलगत स्वार्थका लागि नभई सम्पूर्ण राष्ट्र र नयाँ पुस्ताको भविष्यलाई केन्द्रमा राखेर तयार पारिएका हुन्।
मुख्य प्रस्तावहरू
१. अन्तरिम सरकार गठन
वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई व्यवस्थापन गर्न जेन्जी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्छ।
यो सरकार असफल पुराना दलहरूको प्रभावभन्दा स्वतन्त्र रहनुपर्नेछ।
२. शान्ति र स्थायित्व
सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने, र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको पहिलो प्राथमिकता हुनेछ।
सेना, प्रहरी र सशस्त्र निकायलाई जनसेवामा पुनः उन्मुख गराइनेछ।
३. प्रतिनिधि सभा विघटन
वर्तमान प्रतिनिधि सभा जनताबाट विश्वास गुमाइसकेको छ।
त्यसैले तत्काल प्रभावबाट प्रतिनिधि सभा विघटन गरी राजनीतिक संक्रमणलाई स्पष्ट बनाइनुपर्छ।
४. संविधान संशोधन वा पुनर्लेखन
नयाँ पुस्ताको आकांक्षा र जनताका वास्तविक चाहनालाई प्रतिबिम्बित गर्ने खालको संविधान पुनरावलोकन वा पूर्ण रूपमा पुनर्लेखन गरिनुपर्छ।
यस प्रक्रियामा नागरिक, विशेषज्ञ र विशेष गरी युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्छ।
५. नयाँ चुनाव
अन्तरिम अवधि सकिएपछि स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित नयाँ चुनाव गरिनुपर्छ।
यसले प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्वको स्थापना गर्नेछ।
तत्काल गर्नुपर्ने काम :
विगत तीन दशकमा लुटिएको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गरिनेछ।
शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचवटा मूलभूत संस्थाको संरचनागत सुधार र पुनर्गठन गरिनुपर्छ।
जेन्जी पुस्ताको आन्दोलन क्रममा सहादत प्राप्त गर्ने सबैलाई आधिकारिकरूपमा “सहिद” घोषणा गरिनेछ।
सहिद परिवारलाई राष्ट्रका तर्फबाट सम्मान, अभिनन्दन तथा राहत उपलब्ध गराइनेछ।
बेरोजगारी, पलायन र सामाजिक अन्याय अन्त्य गर्न विशेष कार्यक्रम ल्याइनेछ।
हामी जेन्जी पुस्ताका तर्फबाट स्पष्ट सन्देश दिन चाहन्छौं-
यो आन्दोलन कुनै दल वा व्यक्तिको लागि होइन, सम्पूर्ण पुस्ता र राष्ट्रको भविष्यका लागि हो। हामी शान्ति चाहन्छौं, तर त्यो शान्ति केवल नयाँ राजनीतिक व्यवस्थाको आधारमा मात्र सम्भव छ।
राष्ट्रपति र नेपाली सेनाले हामीले प्रस्तुत गरेका प्रस्तावहरूलाई सकारात्मक रूपमा व्यवहारमा उतार्नु हुने विश्वास हामी राख्छौं।
प्रतिकृया दिनुहोस